धनगढी- बाजुराको कोल्टीबाट एक गर्भवती महिलालाई 'एयरलिफ्ट' गरेर शनिबार मध्यान्ह १२ बजे नेपालगञ्ज लगिएको छ।
बुढीनन्दा नगरपालिका-१, राउतबाडाकी २२ वर्षीय रमीला रोकायालाई सिम्रिक एयरको हेलिकोप्टरबाट नेपालगञ्ज लगिएको हो।
सुत्केरी हुने अवस्थामा पुगेकी रमीलाको पेटमा रहेको बच्चाले दिसा खाएकोलाई थप उपचारका लागि 'एयरलिफ्ट' गरी नेपालगञ्ज पठाइएको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका डा गणेश चौधरीले बताए। डा चौधरीका अनुसार बच्चाको टाउकोसमेत ठूला देखिएकोले कोल्टीमा प्रसुती सेवा दिन जटिल हुने देखिएपछि रमीलालाई नेपालगञ्ज पठाइएको हो।
सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीको पहलमा कोल्टीबाट 'एयरलिफ्ट' गराइएको हो। 'गर्भवती महिला र बच्चाको ज्यान जोखिममा' भन्ने खबर आउने बित्तिकै हेलिकोप्टर खोज्न थालेका हौं,' मन्त्रीका स्वकिय सचिव लोकेन्द्र धामीले भने, 'मध्यान्ह १२ बजे मात्रै कोल्टीबाट उद्धार गर्न सम्भव भयो।'
सामाजिक विकास मन्त्रालयले यसअघि पनि बझाङ र बाजुराबाट सुत्केरी महिलालाई 'एयरलिफ्ट' गरेर उपचारका लागि नेपालगञ्ज र कोहलपुर लगिएको थियो। मन्त्रालयले दुर्गम हिमाली र पहाडी जिल्लाका सर्वसाधारणलाई स्वास्थ्यसम्वन्धी गम्भीर समस्या देखा परे 'एयरलिफ्ट' गर्ने नीति लिएको छ।
सबैभन्दा पहिले २०७५ असारमा बझाङको थलारा गाउँपालिकाबाट २५ वबर्षिया धुमा सार्कीलाई हेलिकोप्टरबाट नेपालगञ्ज लगिएको थियो।