काठमाडौं– नेपाल मेडिकल काउन्सिलले नेपाली चिकित्सा सेवामा निरन्तर पेशागत उन्नयन कार्यक्रम (सिपिडी) लागू गर्ने भएको छ। काउन्सिलले उक्त कार्यक्रम लागू गर्न पहिलो चरणमा तालिमको कार्यक्रम सुरु गरेको छ।
चिकित्सकिय अभ्यासमा रहेका डाक्टरहरुले आफ्नो ज्ञान र सिपलाई निरन्तर अभिवृद्धि गर्न सकुन भनेर काउन्सिलले नयाँ कार्यक्रम सुरु गरेको हो। यो कार्यक्रम कार्यान्वयनमा आएसँगै डाक्टरहरुले ५ वर्षभित्रमा १०० अंक बराबरको सिपिडी अंक ल्याउनु पर्ने हुन्छ। जस अन्तर्गत ३० अंक अनिवार्य भनि तोकिएको विषयहरुबाट ल्याउनुपर्छ भने बाँकी ७० अंक आफ्नो व्यवसायिक रुचिको क्षेत्रबाट प्राप्त गर्न सक्नेछन्।
उक्त अंक ल्याउन नसकेको खण्डमा डाक्टरको लाइसेन्स नविकरण हुनेछैन।
यो कार्यक्रम अन्तर्गत काउन्सिलले चिकित्सकसँग छुट्टै लिखित तथा प्रयोगात्मक परीक्षा लिने छैन। यसमा डाक्टरको ज्ञान र सिपलाई निरन्तर परिष्कृत गर्दै लैजाने पेशागत उन्नयनका कार्यक्रम मात्र हुनेछ।
यो कार्यक्रम अन्तर्गत काउन्सिलले निर्धारण गरेको अनिवार्य र व्यवसायिक रुचिका क्षेत्रका विषयमा डाक्टरले गर्ने कार्य, तालिम, शैक्षिक योग्यता, सिप, लेख, रचना, आचार संहिताको पालना, बिरामीसँगको व्यवहार लगायतका विषय पर्छन्।
काउन्सिलले अनिवार्य भनि तोकिएको विषयमा बेसिक लाइफ सपोर्ट, मेडिकल इथिक्स, कम्युनिकेशन स्कील, इन्फेक्सन प्रिभेन्सन एण्ड कन्ट्रोल, ¥यासनल यूज अफ ड्रग रहेको छ। डेन्टल तर्फका चिकित्सकहरुले मेडिकल तर्फका चिकित्सकहरुले लिने तालिम सहित थप दुई विषयहरु मेडिकल इमरजेन्सी र प्राक्टिस म्यानेजमेन्ट इन डेन्टिष्ट्रीमा तालिम लिनुपर्ने हुन्छ।
व्यावसायिक क्षेत्र भन्नाले चिकित्सकले आफ्नो रुची अनुसार कार्यरत चिकित्सा अभ्यास क्षेत्र मानिनेछ । जस अन्तरगर्त चिकित्सकहरुले प्राप्त गरेका शैक्षिक योग्यता, तालिम, प्रकाशित गरेका लेख रचना, पुस्तक र नियमित रुपमा सम्मिलित हुने कन्फरेन्स, सेमिनार तथा वर्कसप लगायतका विषयहरु हुनेछन्।
काउन्सिलका अध्यक्ष डा धर्मकान्त बाँस्कोटाका अनुसार नेपालमा चिकित्सा सेवाप्रवाह गरिरहेका सम्पूर्ण चिकित्सकको ज्ञान र सीपलाई अझ परिष्कृत गर्न, चिकित्सक र उपचाररत बिरामीका बीच उत्पन्न हुने असमझदारीलाई न्यूनीकरण गर्न, अस्वाभाविक रूपमा लेखिने औषधि तथा परीक्षणहरूलाई व्यवस्थित गर्न, चिकित्सा क्षेत्रमा हुन सक्ने संक्रमणलाई न्यूनीकरण गर्दै अझ गुणस्तरीय र प्रभावकारी बनाउनका लागि निरन्तर पेसागत उन्नयनका कार्यक्रम ल्याइएको हो।
‘यो कार्यक्रम चिकित्सकहरुकै माग अनुसार ल्याइएको हो। यसले चिकित्सकलाइृ भन्दा बढी बिरामीलाई फाइदा पुग्नेछ,’ उनले भने, ‘चिकित्सकको ज्ञान र सिपका साथै पेशागत अन्य विषयलाई निरन्तर अभिवृद्धि गर्न सहयोग गर्नुका साथै बिरामीले गुणस्तरीय र प्रभावकारी सेवा पाउने छन्।’
उनका अनुसार यो कार्यक्रममा भाग लिन चिकित्सकले सुरुमा काउन्सिलको सिपिडि वेभसाइटमा आफूलाई दर्ता गर्नुपर्ने हुन्छ। यसका लागि काउन्सिलले सिपिडी सफ्टवेयर नै विकास गरी छुट्टै वेभसाइटको व्यवस्था गर्दैछ। त्यहाँ उनीहरुले आफूलाई दर्ता गरि आफूले पाएको सिपिडीको तालिम वा अन्य जानकारी अपडेट गर्न सक्नेछन्।
यस कार्यक्रमलाई देशव्यापी बनाउन काउन्सिलले संघीय संरचना अनुसार सात प्रदेशका १५ स्थानमा तालिम केन्द्र स्थापना गर्ने भएको छ। यसका लागि काउन्सिलले १ सय ५० जना प्रशिक्षकलाई तालिम दिइसकेको छ। काउन्सिलले सिपिडीका लागि तयार पारेको विषय अनुसारको पाठ्यक्रम समेत तयार पारिसकेको छ।
दक्षिण एसियामा यस खालको सिपिडी कार्यक्रमलाई अनिवार्य गरी औपचारीक रुपमा लागू गर्ने देशमा नेपाल दोस्रो पर्छ। यसअघि भुटानमा यस्तो व्यवस्था छ।