जाजरकोट– छेडागाड नगरपालिका–३ का रत्न सिंह ६१ वर्षको उमेरमा पुनः आँखा देख्नसक्ने भएका छन्। ५१ वर्षको उमेरदेखि आँखा देख्न छाडेका उनी अहिले ११ वर्षपछि दोस्रो पटक संसार देख्न पाउँदा खुसीले गद्गद् छन्।
'नाति ६ महिनाको हुँदादेखि आँखा देख्न छाडेको थिएँ, मैले उसको आवाज मात्र सुन्न पाएको थिएँ। अहिले १२ वर्षको नाति विद्यालय गएर फर्किएको देख्न पाउँदा खुसीको सीमा नै छैन', सिंहले भने।
आँखाको ज्योति फर्किएको खुसियालीमा खसी काटेर खाएको उनले बताए।
सोही ठाउँकै सिर्जना विकले पनि करीब पाँच वर्षपछि आँखा देख्न पाउँदा खुसी भएको बताइन्। उनले भनिन्, 'आँखा नदेख्दा सबैले हेप्ने र दुःख दिने गर्थे, अब आँखा देख्ने भएपछि घरको कामदेखि अरुलाई सघाउनेसम्मका काम गर्दै आएको छु।'
उनीहरु जस्तै ६ सय ६३ जना पुनः संसार देख्न पाइएकामा खुसी भएका छन्। कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय र छेडागाड नगरपालिकाको संयुक्त आयोजनामा भएको आँखा शिविरमा धेरैले पुनः संसार देख्न पाएका हुन्।
दुर्गम गाउँमा स्वास्थ्यकर्मी उपस्थित नहुनाले उपचार गर्न नपाएका र अर्थाभावमा कारण रोग पालेर बस्न बाध्य भएका सर्वसाधारणले गाउँमै उपचार गर्न पाउँदा खुसी भएको उक्त नगरपालिका–४ का बलबहादुर सिंहले बताए। उनले भने, 'यस्ता खालका शिविर पहिले भएका थिएनन्, गाउँमा त झन् को पो आउँथ्यो र? अहिले हाम्रा लालबहादुर महतरा प्रदेश सरकारमा पुग्नुभएकाले हामीलाई घर नजिकै उपचार गर्न सहज भएको छ।'
अझै पनि दुर्गम गाउँमा आँखाका बिरामी भए पनि उपचार नपाएर अर्काको सहारा लिन बाध्य भएको उनको भनाइ थियो।
उक्त मन्त्रालयको सहयोगमा जिल्लाका स्थानीय तहले स्वास्थ्य शिविर गर्दै आएका छन्। अर्थाभाव भएका, अशक्त, र अपाङ्गता भएका व्यक्तिले बढी शिविरबाट सेवा लिएको उक्त नगरपालिकाको स्वास्थ्य शाखाका भीमराज सिंहले जानकारी दिए। रासस