काठमाडौं– पूर्व स्वास्थ्यमन्त्री एवं नेपाली कांग्रेसका सांसद गगन थापाको अगुवाइमा काठमाडौं निर्वाचन क्षेत्र नं ४ को वडा नम्बर ३० मा जीवन बचाउने अभियानअन्तर्गत स्वास्थ्य शिविरको कार्यक्रम सञ्चालन भइरहेको छ।
शिविरअन्तर्गत पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको निःशुल्क परीक्षण हुँदै आइरहेको छ। यो अभियानअन्तर्गत १० वटा शिविर उक्त वडाका विभिन्न स्थानमा हुन्छ। पहिलो शिविर मैतिदेवी मन्दिर पछाडि भइसकेको छ भने दोस्रो शिविर सांसद थापाको कार्यालय ज्ञानेश्वरमा भएको छ। हिजो शनिबार भएको शिविरमा एक सय १० जनाको निशुल्क जाँच गरिएको थियो। जसमध्ये ४ जनामा समस्या भेटिएको छ। समस्या देखिएकाहरुको समस्या समाधानका लागि आयोजकले सहयोग गर्ने छन्।
अघिल्लो शनिबार मैतिदेवीमा भएको शिविरमा १ सय ८० जनाले सेवा लिएका थिए। जसमध्ये १४ जनामा समस्या देखिएको छ।
मध्य सहरका जनता स्वास्थ्य सेवाको पहुँचमा रहे पनि लाज, डर वा विभिन्न कारणले उपचारका लागि नजाँदा समस्या फेला परेको सांसद थापाले जानकारी दिए। ‘हमीले नमुनाका रुपमा वडा नम्बर ३० लाई लिएका हौं,’ उनले भने, ‘शिक्षित, आर्थिक हिसाबमा पनि सबल रहेका र उपचारको पहुँचमा रहेका यी क्षेत्रका आमा दिदीबहिनीमा समस्या भेटिनु भनेको गम्भीर कुरा हो।’ उनले यस्ता कार्यक्रम सरकारले देशका हरेक स्थानीय तहमा सञ्चालन गर्नुपर्ने बताए।
काठमाडौं निर्वाचन क्षेत्र नं ४ को संसदको कार्यलयमार्फत सांसाद थापाले यो अभियान सञ्चालनमा ल्याएका हुन्। शिविरसँगै सो वडाका प्रत्येक घरको स्वास्थ्य स्थिति सर्वे पनि हुँदै आएको छ।
शिविरको मेडिकल सहयोगी नेपाल क्यान्सर रिलिफ सोसाइटी रहेको छ। शिविरलाई कामना सेवा विकास बैंक, मानव स्वास्थ्य र काठमाडौं महानगरपालिका वडा नम्बर ३०ले पनि सहयोग गरेको छ।
शिविरमा सेवा लिएका केही सेवाग्राहीसँग स्वास्थ्यखबरले कुराकानी गरेको छ।
हेरौं उनीहरुको धारणा भिडियोमा