काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ सय २५ जना डाक्टरलाई संघ अन्तर्गत पुल दरबन्दीमा राख्न डाक्टरहरुको विवरण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाएको छ।
यसअघि मन्त्रालयले तहगत आधारमा ११ औं तहका ५, ९ र १० औं तहका ८० र ८ औं तहका ४० जनालाई पुल दरबन्दीमा राख्ने प्रस्ताव सामान्यमा पठाएको थियो। सामान्य प्रशासनले उक्त फाइलमा संख्या मात्र उल्लेख भएकाले पुल दरबन्दीमा राख्ने भनिएका विशेषज्ञ डाक्टरहरुको विस्तृत विवरण पठाउन भन्दै स्वास्थ्य मन्त्रालयमा फाइल फर्काएको थियो।
सोही आधारमा स्वास्थ्य मन्त्रालयले चिकित्सकको विवरण आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाएको हो। ‘
स्वास्थ्य मन्त्रालय र सरकारी चिकित्सक संघ (गोदान)बीच गत चैत ३० गते पुल दरबन्दी राख्ने कुरामा ‘जेन्टलमेन’ सहमति भएको थियो। सोही अनुसार मन्त्रालयले आवश्यक प्रक्रिया पुरा गर्न गोदानसँग १५ दिनको समय माग गरेको थियो। १५ दिनको समय सकिएपछि भएको छलफलका आधारमा स्वास्थ्यले विशेषज्ञ डाक्टरलाइ पुल दरबन्दीमा राख्ने प्रस्ताव पठाएको हो।
स्वास्थ्यले पठाएको विवरण सामान्यले अध्ययन गरी मन्त्रिपरिषदमा पेस गर्नेछ। त्यसपछि मात्र पुल दरबन्दी कार्यान्वयनमा आउनेछ।