काठमाडौं- बाँसबारीस्थित सहिद गंगालाल हृदय केन्द्रमा कार्यरत एक इन्जिनियरको शैक्षिक प्रमाणपत्र नक्कली फेला परेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अस्पतालमा इन्जिनियर पदमा कार्यरत प्रदीपकुमार यादवको प्रमाणपत्र नक्कली फेला पारेको हो।
आयोगले उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कारबाहीका लागि आइतबार विशेषमा आरोप–पत्र दायर गरेको हो ।
यादवको इन्जिनियरको सर्टिफिकेट नक्कली रहेको हुँदा आवश्यक छानबिनसहित कारबाही गर्न परेको उजुरीका आधारमा अख्तयारले उनका विषायमा छानबिन गरेको थियो। छानिबनका क्रममा दोषी पाइएपछि प्रमाण र कसुरअनुसार हदैसम्मको सजायको मागदाबीसहित यादवविरुद्ध विशेषमा मुद्दा दायर गरेको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
अख्तियारका अनुसार यादवले सुरुमा गंगालाल अस्पतालमा इलेक्ट्रिसिटी सहायक पदमा नियुक्ति लिएका थिए। पछि यादवले इन्जिनियर पदमा बढुवा प्रयोजनका लागि पोखरा विश्वविद्यय, परीक्षा नियन्त्रण कार्यालयबाट ‘ब्याचलर अफ इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ तहको नक्कली शैक्षिक प्रमाणपत्र बनाई पेस गरेका थिए। त्यति मात्र नभई यादवले नेपाल इन्जिनियरिङ परिषद्, नक्सालबाट जारी भएको साधारण दर्तावाला इन्जिनियरको नामदर्ता प्रमाणपत्रसमेत नक्कली बनाई पेस गरेको अख्तियारले जनाएको छ।