हेटौँडा- प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल एक हप्ताका लागि अस्पताल भर्ना भएका छन्। नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका पौडेललाई एक हप्ताका लागि भर्ना गरिएको हो।
मुख्यमन्त्री पौडेल मुटुको नियमित परीक्षणका लागि काठमाडौंको सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा आइतबारबाट भर्ना भएका हुन्। ७३ वर्षीय पौडेल प्रदेशसभा सदस्यमध्ये ज्येष्ठ हुन्।
पौडेल बुढ्यौली, उच्च रक्तचाप तथा मधुमेहपीडित भए पनि राजनीति तथा प्रदेश सरकार सञ्चालनमा क्रियाशील छन्। उनको यसअघि हेटौँडाको सामुदायिक आँखा अस्पतालमा आँखाको मोतीयाविन्दुको शल्यक्रिया गरिएको थियो।
मुख्यमन्त्री पौडेलको गङ्गालाल हृदयरोग निवारण केन्द्रका विशेषज्ञ चिकित्सकको टोलीले स्वास्थ्य जाँच गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। अस्पतालका चिकित्सकका अनुसार मुख्यमन्त्रीले एक हप्ता आराम गर्नुपर्नेछ।
अस्पताल भर्ना भएसँगै मुख्यमन्त्रीको सार्वजनिक कार्यक्रम स्थगित गरिएको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए। मुख्यमन्त्री पौडेल अस्पताल भर्ना भएपछि जेठ २४ र २५ गते हेटौँडामा हुने प्रदेश समन्वय परिषद्को बैठकसमेत प्रभावित हुने भएको छ। रासस