प्युठान– क्षयरोग नियन्त्रणका लागि प्युठानका दुई स्थानीय तहमा ड्रोनमार्फत बिरामीको नमुना परीक्षण र औषधि वितरण गर्ने नयाँ परियोजना सुरु गरिएको छ।
ड्रोन अब्जर्भ थेरापी सिस्टम (ड्रोट्स) नाम दिइएको सो परियोजना विराट नेपाल मेडिकल ट्रस्ट (विएनएमटी) को आर्थिक तथा प्राविधिक सहयोगमा जिल्ला स्वास्थ्य कार्यालयले सञ्चालन गरेको हो।
गाउँगाउँ पुगेर क्षयरोगीको खकार र रगत संकलन गरी छिटो र प्रभावकारी रुपमा उपचार गर्नका लागि ड्रोट्स परियोजना सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदीले जानकारी दिए।
१५ किलोमिटर उड्नसक्ने क्षमता भएको ड्रोनले क्षयरोगीका बिरामीको खकार स्वास्थ्य चौकीसम्म ल्याउने र रिपोर्ट तथा औषधि बोकेर गाउँसम्म लैजाने काम गर्ने परियोजना संयोजक श्रद्धा आचार्यले बताइन्।

करिब ७ केजी क्षमता ढुवानी गर्नसक्ने ड्रोनमार्फत औषधि र बिरामीको नमुना ढुवानी गर्दा स्वास्थ्यकर्मी र ग्रामीण समुदायका बृद्धबृद्धा, असहाय लगायतका व्यक्तिहरुलाई सहज हुनेछ।
सो कार्यक्रमका लागि निक साइमन्स फाउन्डेसन, वि रोबोटिक्स नेपाल फ्लाइङ ल्याब्स, स्टोनी ब्रुक युनिभर्सिटी र लिभरपुल स्कुल अफ ट्रपिकल मेडिसिनले पनि सहयोग गरेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य महाशाखाका प्रमुख महेन्द्र श्रेष्ठले कार्यक्रमको उद्घाटन गरेका थिए। सो अवसरमा नयाँ प्रविधियुक्त ड्रोनको सफल परीक्षण समेत गरिएको थियो।
होटेल आयुष्माको प्रांगणबाट उडाइएको ड्रोन खेलकुद मैदानमा बसालिएको थियो।

प्युठान नगरपालिका र स्वर्गद्वारी नगरपालिकामा यो परियोजना सञ्चालन हुनेछ। यो पाइटल परियोजना भएका कारण सफल र प्रभावकारी भएमा परियोजना थप हुने स्वास्थ्य कार्यालय प्युठानका प्रमुख सुवेदीले बताए।
‘नयाँ प्रविधि भएकोले दुर्गम बस्तीका बिरामीको नमुना परीक्षणमा सहजता ल्याउने अपेक्षा छ’ प्रमुख सुवेदीले भने, ‘यो प्युठानका दुई स्थानीय तहमा परीक्षण परियोजना हो ।’
ड्रोन सञ्चालनका लागि स्वास्थ्यकर्मीहरुलाई तालिम प्रदान गरिसकिएको परियोजना संयोजक श्रद्धा आचार्यले जानकारी दिइन्। समुदाय स्तरमा समेत यस परियोजनासम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरी उडान नियमित गरिने उनले बताइन्।
सन् २०५० सम्म नेपालबाट क्षयरोग अन्त्य गर्ने उद्देश्य सहित नेपाल सरकारले क्षयरोग विरुद्धका विविध कार्यक्रमहरु सञ्चालन गर्दै आएको स्वास्थ्य तथा जनसख्या मन्त्रालय, स्वास्थ्य समन्वय महाशाखाका प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिए।
‘ड्रोट्स नेपाल परियोजनाले क्षयरोग नियन्त्रणका समस्या तथा चुनौतरुलाई निदान गर्ने छ,’ महाशाखाका प्रमुख श्रेष्ठले भने, ‘भौगोलिक रुपमा विकट मानिने दुर्गम वस्तीका जनसमुदायमा यस परियोजना सर्वसुलभ माध्यय बन्ने छ।’
ड्रोट्स कार्यक्रमले क्षयरोग, यसको रोगथाम र नियन्त्रणसम्बन्धी समुदायको जागरुकतामा बृद्धि गराउने, क्षयरोग पत्ता लाग्ने दरमा बृद्धि, क्षयरोगको उपचार सफलता दरमा बृद्धि, क्षयरोग नियन्त्रण र व्यवस्थापनका लागि सम्बन्धित सरोकारवालाहरुको संलग्नतामा बृद्धि गरी क्षयरोग अन्त्य गर्ने उपेक्षा राखेको जिल्ला जनस्वास्थ्य कार्यलयले जनाएको छ।
प्युठान जिल्लामा ३ सय ८९ जना क्षयरोगका बिरामी भेटिएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क छ। यसमध्ये प्युठान नगरपालिकामा ८१ जना र स्वर्गद्धारी नगरपालिकामा ६१ जना क्षयरोगका बिरामी छन्।
क्षयरोग सरुवा रोग भएकोले एक जना व्यक्तिले १० जनासम्मलाई सहज सार्नसक्ने हुँदा एक पटक सबैले स्वास्थ्य परीक्षण गरी औषधि सेवन गर्नुपर्ने स्वास्थ्यकर्मीहरुको भनाइ छ।