काठमाडौं- प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलको मुटुको शल्यक्रिया सफल भएको छ। बाँसबारीस्थित गङ्गालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा मुटुरोग विशेषज्ञ डा चन्द्रमणि अधिकारीको टोलीले उनको शल्यक्रिया गरेको हो।
मुटुको सामान्य जाँचका लागि अस्पताल पुग्दा मुटुको एउटा भल्भमा समस्या रहेको पाइएको मुख्यमन्त्री पौडेलका स्वकीय सचिव अनुप पौडेलले जानकारी दिए। उनका अनुसार अहिले मुख्यमन्त्री पौडेलको अवस्था सामान्य रहेको छ। चिकित्सकको सल्लाहअनुसार एक साता आराम गर्नुपर्ने उनले जानकारी दिए।
मुख्यमन्त्री पौडेलले केही समयपहिले राष्ट्रपति विद्यादेवी भण्डारीसँगै चीन भ्रमणमा जाँदा गरेको स्वास्थ्य जाँचमा मुटुमा समस्या देखिएको उनको सचिवालयले जनाएको छ। रासस