ललितपुर- नेपाल मेडिसिटी अस्पतालमा फोक्सोमा ट्युमर बिना शल्यक्रया उपचार गरिएको छ। २० वर्षीय एक युवकको बिना शल्यक्रिया फोक्सोको ट्युमरको उपचार गरिएको अस्पालले जानकारी दिएको छ। ट्युमरको सर्जरीका विकल्पमा ‘माइक्रोवेभ एब्लेसन' प्रक्रियाबाट उनको उपचार गरिएको हो।
माइक्रोवेभ एब्लेसन फोक्सोको ट्युमरको उपचार गर्ने नवीनतम पद्धति हो। कलेजो, फोक्सो, थाइरोइड ग्रन्थि तथा हड्डी लगायतका स्थानमा रहेका ३ देखि ५ सेन्टिमिटर आकारका ट्यूमरको उपचार गर्न यो विधि अपनाउन सकिन्छ।
चिकित्सकका अनुसार यस प्रविधिमा चिरेर गर्नुपर्ने शल्यक्रियाको आवश्यक पर्दैन। यसमा सुईको प्रयोगबाट ट्युमरको निराकरण गर्न सकिन्छ।
मेडिसिटीमा गरिएको यो उपचारमा संलग्न चिकित्सक डा ओम बिजु पन्तका अनुसार नेपालमा कहीँ–कहीँ यस प्रविधिद्वारा कलेजोमा रहेको ट्युमरको उपचार गरेको पाइएपनि फोक्सोमा भएको ट्युमरका लागि यो नै पहिलो सफलता हो।
आइतबार भएको उक्त उपचारमा रेडियोलोजी विभाग प्रमुख प्रा. डा. राम कुमार घिमिरे, सोही विभागका डा. ओम बिजु पन्त तथा एनेस्थेसियोलोजिस्ट डा. अपूर्व शर्मा सहभागी थिए। उपचारपश्चात् बिरामीलाई सोमबार नै डिस्चार्ज गरिएको छ।