काठमाडौं– कुपन्डोलस्थित सर्वाङ्ग स्वास्थ्य सदन अस्पतालले न्यूनतम पारिश्रमिक नदिई १३ जना कामदारलाई कामबाट निष्कासन गरेको छ।
अस्पतालले गत बुधबारदेखि १३ जना कामदार लाई कामबाट निकालेको हो। कर्मचारीले न्यूनतम पारिश्रमिक माग गरेपछि अस्पतालले उनीहरुलाई ‘अभद्र व्यवहार र न्यूनतम पेसागत मर्यादा कायम नगरेको पत्र बुझाउँदै कामबाट निष्कासन गरेको हो।
अस्पतालमा २५ वर्षदेखि विभिन्न पदमा कार्यरत कर्मचारीले न्यूनतम तलब नपाएको भन्दै आवाज उठाउँदै आएका थिए। तर अस्पतालले भने बेवास्ता गर्दै आएको कर्मचारीको आरोप छ।
अस्पतालले न्यूनतम पारिश्रमिक उपलब्ध नगराएपछि ल्याबमा काम गर्ने सुरेन्द्र चौधरी लगायत अन्य केही श्रमिकले आफूहरुले न्यूनतम पारिश्रमिक लगायत अन्य सेवा सुविधा नपाएको भन्दै श्रम कार्यालय टेकुमा २०७५ फागुन २१ गते उजुरी दिएका थिए।
उजुरी परेपछि छलफलका लागि श्रम कार्यालय टेकुले पटकपटक पत्र काटेको थियो। ३ पटकभन्दा बढी पत्र काटेपछि मात्रै सर्वाङ्ग अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सइिओ) सुशील खनाल र ध्रुव पौडेल श्रम कार्यालय टेकुमा उपस्थित भएका थिए।
सिइओ खनाल र पौडेल तथा सर्वांगमा कार्यरत कर्मचारीबीच श्रम कार्यालय टेकुमा ०७६ वैशाख ४ गते श्रम ऐन अनुसारको पारिश्रमिक तथा सेवा सुविधा जेठ १५ गतेदेखि उपलब्ध गराउने सम्झौता भएको थियो।

सम्झौता पत्र
२५ वर्षदेखि कार्यरत कर्मचारीको तलब ९ हजार मात्रै
सुरेन्द्र चौधरीले सर्वाङ्ग अस्पतालमा लेवरको काम गरेको २५ वर्ष भयो। २५ वर्षसम्म काम गर्दा पनि उनले सरकारले ०७५÷०७६ देखि कार्यान्वयनमा आउने गरी लागू गरेको तलब १३ हजार ४ सय ५० पाउन सकेका छैनन्।
सोही अस्पतालमा कार्यरत जोखन चौधरीले मासिक रुपमा पाउँदै आएको पारिश्रमिक विवरण देखाउँदै भने, ‘हामीले अस्पतालमा वषौँदेखि दिनरात मेहनत गर्दै आए पनि अस्पतालको तलब ९ हजारभन्दा बढ्न सकेको छैन। न्यूनतम पारिश्रमिकको कुरा गरेकाले नगरेको गल्ती देखाएर कामबाट निकालिएको छ।’

तलब सिट
अर्का कर्मचारी सुरेन्द्र चौधरीले आफू लगायत साथीहरुलाई अस्पतालले नभएको लाच्छना लगाएर कामबाट निष्कासन गरेको बताए।

अस्पतालको निश्कासन पत्र
कर्मचारीहरुले न्यूतनम पेशागत मर्यादा कायम राख्न नसकेकाले कामबाट निष्काशन गरिएको असस्पालको पत्रमा उल्लेख छ ।
अस्पतालले वैशाख ४ गते भएको सम्झौतामा जेठ १५ गतेदेखि न्यूनतम पारिश्रमिक दिने उल्लेख भएको थियो । तर जेठ १५ देखि नै कामदारहरुलाई अस्पतालले निकालेको हो।
के भन्छ अस्पताल?
यस विषयमा अस्पतालसँ बुझ्दा कर्मचारीहरुको तलब र सेवा सुविधा बढाउन असमर्थ रहेको गैर जिम्मेवार प्रतिक्रिया अस्पतालले दिएको छ।
अस्पतालका सिइओ सुशिल खनालले अस्पतालले हाल कर्मचारीलाई उपलब्ध गराउँदै आएको तलब तथा सेवा सुविधा पनि ऋणमा ल्याएर काम चलाइरहेकाले अस्पताल नै समस्यामा परेको बताए ।
उनले भने, ‘अस्पताल नै घाटामा गइरहेको अबस्थामा हामी कर्मचारीको तलब बढाउन सक्ने अबस्थामा छैनाँै, कर्मचारीहरु अनाबश्यक रुपमा आन्दोलनमा उत्रिएर दैनिक काममा नै अवरोध गरेकाले हामीले कामबाट निष्काशन गरेका हौँ । हामीले उनीहरुलाई दिँदै आएको सबै तलब दिएका छौँ ।’
कर्मचारीहरुलाई उपलब्ध गराउँदै आएको सबै पारिश्रमिक दिइसकेकाले अब अरु कुनैपनि सेवा सुविधा तथा तलब कर्मचारीलाई दिन बाँकी नरहेको अस्पतालले बताउँदै आएको छ ।
हाल अस्पतालमा ५४ जना कर्मचारी कार्यरत छन् । जसमध्ये १३ जना निकालिएका हुन्।
मेनुका सिजापती, इन्द्रशंकर रञ्जीत, सुरेन्द्र चौधरी, तनुजा मल्ल, ओटी विभागमा कार्यरत जोखन चौधरी, एक्स रे विभागमा कार्यरत आकाश संजेल, हाउस किपिङ विभागमा कार्यरत भावना न्यौपाने, मीरा लामा, रन्जना थापा, चन्द्रकुमारी देउला, शोभा खड्गी, पार्वती थापा र बेदप्रसाद डाँगी निष्कासनमा परेक हुन्।
कर्मचारीहरुले अस्पतालले निष्काशन गरे पनि न्यूनतम सेवा सुविधा तथा तलब श्रम ऐन २०७४ अनुसार सबै हिसाब पाउनुपर्ने भन्दै पुनः भने फेरि पनि श्रम कार्यालय टेकुमा उजुरी गरेका छन् ।

१३ जनाले दिएको उजुरी पत्र
कर्मचारी र अस्पताललाई पुनः छलफलमा राखी विवाद समाधान गरिने श्रम कार्यालय टेकुले जनाएको छ ।
कार्यालयका नायब सुब्बा जालन्धर भुसालले भने, ‘हामीले दुवै पक्षलाई छलफलमा बोलाएर समस्या बुझ्छौँ र सुल्झाउनतिर लाग्छौं।’
हरेक वर्ष ५ सयभन्दा बढी श्रम सम्बन्धमा उजुरीहरु लिएर श्रमिकहरु श्रम कार्यालय टेकुमा पुग्ने गरेको कार्यालयका नासु भुसाल बताउँछन् ।
सरकारले चालु आर्थिक वर्षको सुरुवातदेखि नै विभिन्न प्रतिष्ठानहरुमा काम गर्ने कर्मचारीहरुको न्यूुनतम तलब १३ हजार ४ सय ५० लागू गरे पनि कार्यान्वयनमा आउन सकेको छैन ।
सरकारले निर्धारण गरेको न्यूनतम तलबभन्दा कम पारिश्रमिकमा कामदारहरुले काम गर्न बाध्य छन्।