उदयपुर– कटारी अस्पतालमा आकस्मिक प्रसूति शल्यक्रिया सेवा सुरु भएको छ। कटारी नगरपालिका र प्रदेशको व्यवस्थापनपछि अस्पतालले प्रसूति शल्यक्रिया सुरु गरेको हो।
पहिलो पटक कटारी नगरपालिका–५ बरमझियाकी २४ वर्षीया फूलकुमारी दनुवारले पहिलो सन्तान जन्माउँदा लहानको निजी अस्पतालमा शल्यक्रिया गरेकी थिइन्। दनुवारले त्यसको २५ महिनापछि दोस्रो सन्तान जन्माउँदा भने कटारी अस्पतालमै शल्यक्रिया गरेकी छन्।
फूलकुमारीको शल्यक्रिया गरेर कटारी अस्पतालमा प्रसूती शल्यक्रिया सेवा सुरु गरिएको अस्पतालका मेडिकल सुपरिडेन्ट डा पवनकुमार साहले बताए। दनुवारको डाक्टर पवन, गौरव साह र डाक्टर देवेन्द्र गौतम सहितको टोलीले सफलतापूर्व शल्यक्रिया गरिएको हो। सुत्केरी व्यथा लागेर अस्पताल आएकी दनुवारले शल्यक्रिया गरी छोरीलाई जन्म दिएको डाक्टर पवनले बताए।
प्रसूति शल्यक्रिया सेवा सुरू भएसँगै छिमेकी जिल्ला सिन्धुली, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बूलाई समेत फाइदा पुग्ने छ। अस्पतालको भवन हस्तान्तरण भएको साढे दुई वर्षपछि मात्र प्रसूतिको शल्यक्रिया सेवा सुरू भएको हो।
१५ बेडको यो अस्पताललाई हाल प्रदेश १ ले पनी उच्च प्राथमिकतामा राखी अस्पताललाई प्रदेश मातहत राख्नको लागि कटारी नगरपालिकाले पहल गरी पत्रचार समेत गरिसकेको छ।
कसरी सुधार भयो कटारी अस्पताल?

प्राथमिक स्वास्थ्य केन्द्र हुँदा डा अनिल बराल (हाल वीर अस्पताल नेफ्रोलोजिस्ट) ले नेतृत्व गरेपश्चात् तत्कालीन स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलको पहलमा कटारी अस्पतालको भवन निर्माण भएको थियो। भवन बनेपछि डा नन्दकिशोर चौधरी (हाल कान्ति बाल अस्पताल बालरोग विशेषज्ञ) ले अस्थायी रुपमा अस्पतालको सेवासुविधामा सुधारको प्रयास गरेका थिए।
कटारी अस्पतालको मुहार फेरे डा गौरव शाहले
नेपाल सरकारको छात्रबृत्तिमा नेपाल मेडिकल कलेज नेपालगञ्जबाट एमबिबिएस गरेका उनले दुई वर्ष भेरी अञ्चल अस्पतालमा करारमा काम गरे। बिपी प्रतिष्ठान धरानमा एमडीमा नाम निस्किएपछि ४ महिना धरानमै पढेर लोकसेवाको आठौँ तह (मेडिकल अधिकृत) मा स्थायीमा नाम निकालेर कटारी अस्पताल आएसँगै उनले छोटो समयमा नै कटारी अस्पताललाई व्यवस्थित बनाएका थिए।
गगन थापा स्वास्थमन्त्री भएको बेला अस्पताल शुद्धीकरणको निम्ति अन्तिम समयमा आएको बजेटलाई प्रयोग गरी अस्पतालको पूर्वाधार विकासको काम सम्पन गराए भने उनले सरसफाइ र शुद्ध खानेपानीको लागि प्लान्ट नै जडान गर्न लगाए। एउटै कोठामा बिरामी जाच्ने, रगत निकाल्ने, खकार जाँच गराउने सम्पूर्ण जाँच हुन्थ्यो। डा गौरवले ल्याब फरक कोठामा, खकारको जाँच फरक कोठामा र बिरामी जाँच्न पनि फरक-फरक कोठाको व्यवस्था मिलाए। बिरामीको सहजताको लागि छुटसहित अस्पतालले आफ्नै फार्मेसी सञ्चालन गराउन सफल भए डा गौरव।
एमडिजिपी डा पवन शाह आएसँगै सुरू भयो प्रसूति शल्यक्रिया
नेपालगञ्ज मेडिकल कलेज बाट सन् २००७ मा एमबिबिएस गरेका शाहले ३ वर्ष वनकटुवा प्राथमिक स्वास्थ्य केन्द्र बाँकेमा काम गरे। उनले एमडी भने वीर अस्पतालबाट गरेका हुन्।

डा शाहले पाँचथर जिल्ला जनस्वस्थ प्रमुखका रुपमा फिदिम अस्पतालमा २ वर्ष ६ महिना काम गरेका थिए। त्यहाँबाट उदयपुर जिल्ला अस्पताल गाईघाट ८ महिना काम गरेर कटारी अस्पताल आएपछि प्रसूति शल्यक्रिया सुरू गरेका छन्। डा शाह आएसँगै कटारीका स्थानीय र जनप्रतिनिधि खुसी भएका छन्।
प्रदेशकै नमुना अस्पताल बनाउँछौं : नगर प्रमुख श्रेष्ठ
कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले प्रदेशकै नमुना अस्पताल बनाउन अस्पताललाई व्यवस्थापन गरिरहेको बताए। नगरपालिकाले प्रदेश मातहतको लागि पहल गरिरहेको समेत प्रमुख श्रेष्ठले बताए।
'५ शय्याको कटारी अस्पताल स्तरोन्नति भए पनि आकस्मिक प्रसूति शल्यक्रिया सेवा नहुँदा समस्या थियो,’ नगर प्रमुख श्रेष्ठले भने, ‘कटारीमै सेवा नहुँदा यस क्षेत्रका सर्वसाधारण आकस्मिक प्रसूति शल्यक्रियाका लागि महँगो मूल्य तिरेर धरान, विराटनगर, काठमाडौंसम्म पुग्नु बाध्य थिए। अब त्यो बाध्यता हटेको छ।'