कैलाली– कैलालीको जोशीपुर गाउँपलिकाले नियम विपरीत स्वास्थ्य क्षेत्रका तीन जना कर्मचारी नियुक्ति गरेको पाइएको छ।
जेठ २० गतेको कार्यपालिकाको निर्णयले वडा नम्बर ३ बन्जरियामा स्थापना गरिएको सामुदायिक स्वास्थ्य इकाईका लागि तीन जना कर्मचारीको नाम सिफारिस गरी नियुक्त गरेको हो।
कार्यपालिकाको बैठकले अहेवमा सुरेश चौधरी, अनमीमा सम्झना चौधरी र कार्यालय सहयोगीमा कालिराम चौधरीलाई नियुक्ति गरेको हो।
गाउँपालिका स्वास्थ्य शाखाले अहेव, अनमी र कार्यालय सहयोगीका लागि विज्ञापन निकाल्ने तयारी अन्तिम चरणमा पुर्याएको थियो। तर, कार्यपालिकाले प्रकिया नै पूरा नगरी विना विज्ञापन कर्मचारी नियुक्ति गरेको हो।
विज्ञापनमार्फत् छनोट गरी कर्मचारी नियुक्ति गर्दा धेरै समय लाग्ने भएकाले सोझै कार्यपालिकाको निर्णयबाट कर्मचारी राखिएको गाउँपालिका अध्यक्ष राम कृष्ण चौधरीले बताए।
सामुदायिक स्वास्थ्य इकाईमा सेवा प्रवाहका लागि कर्मचारी अति आवश्यक भएकाले अहिले ज्यालादारीमा कर्मचारी राखिएको र असारपछि विज्ञापन प्रकाशन गररे कर्मचारी छनोट गरिने उपाध्यक्ष गीता कठरीयाले बताइन्।
कार्यपालिकाको बैठकले अहेव र अनमीलाई दैनिक सात सय र कार्यालय सहयोगीलाई दैनिक पाँच सय रुपैयाँ दिने गरी ज्यालादारीमा नियक्ति गरेको हो।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नाराण प्रसाद शर्मा भने पाँच लाख मुनिको कार्यक्रम र समय पनि छोटो भएकाले खरिद ऐनअनुसार कर्मचारी नियुक्ति गरिएको बताउँछन्।
बिना प्रतिस्पर्धा कर्मचारी नियुक्ति गरेको भन्दै स्थानीयबासीले र्निणयको विरोध गरेका छन्। अध्यक्ष निकट रहेकाले तिन जना कर्मचारी बिना प्रतिस्पर्धा छनोट गरिएको उनीहरूको आरोप छ।