काठमाडौं- उच्च गुणस्तरीय स्वास्थ्य प्रणालीसम्बन्धी ल्यानसेट कमिसनको विश्वव्यापी प्रतिवेदन सार्वजनिक गरिएको छ। बिहिबार काठमाडौंमा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपन्द्र यादवले र द ल्यान्सेट ग्लोबल हेल्थ कमिसनकी अध्यक्ष डा मार्गरेट क्रुकले संयुक्त रुपमा सो प्रतिवेदन सार्वजनिक गरेका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र पब्लिक पोलिसी पाठशालाले राजधानीमा गरेको एक कार्यक्रमबीच ल्यान्सेटको ‘द ल्यानसेट ग्लोबल हेल्थ कमिसन अन हाइ क्वालिटी हेल्थ सिस्टम इन द सस्टेनेबल डेभलपमेन्ट गोल्स इरा : टाइम फर अ रिभोलुसन’ नामक प्रतिवेदन सार्वजनिक भएको हो।
प्रतिवेदनमा स्वास्थ्य सेवा प्रवाह उच्च गुणस्तरीय हुनुपर्नेमा जोड दिँदै भनिएको छ, ‘न्यूनतम गुणस्तरको पनि प्रत्याभूति नगरी स्वास्थ्य सेवा प्रवाह गर्नु अनैतिक, अप्रभावकारी र खर्चको बर्बादी मात्र हो।’
प्रतिवेदनमा विश्वका विभिन्न देशका स्वास्थ्य सेवा, गुणस्तरका लागि भएका प्रयास, स्वास्थ्यका क्षेत्रमा ती देशले गरेको लगानी, स्वास्थ्य सेवाको पहुँच, उपलब्धतालगायतका विषय समावेश छन्। प्रतिवेदनमा नेपालको स्वास्थ्य अवस्था, लगानी, गुणस्तर लगायतका विषयमा पनि उल्लेख छ।
प्रतिवेदन सार्वजनिक गर्दै स्वास्थ्यमन्त्री उपेन्द्र यादवले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा सरकारले प्राथमिकता दिँदै गएको बताए। उनले स्वास्थ्यमा सर्वव्यापी पहुँचसँगै गुणस्तरीय सेवालाई पनि जोड दिइएको दाबी गरे।
‘अब स्वास्थ्य सेवा विस्तार गरेर र पहुँच बढाएर मात्र पुग्दैन,’ उनले भने, ‘स्वास्थ्य मन्त्रालयले गुणस्तरलाई पनि केन्द्रबिन्दुमा राखेर काम अगाडि बढाएको छ।’ उनले गुणस्तरीय स्वास्थ्य सेवाका लागि स्वास्थ्यसँगै खानेपानी, कृषि, वातावरण। शिक्षालगायत अन्य निकायहरुले पनि साथ र सहयोग आवश्यक रहेको बताए।
द ल्यान्सेट ग्लोबल हेल्थ कमिसनकी अध्यक्ष डा क्रुकले समयअनुसार गुणस्तरीय स्वास्थ्य सेवाको परिभाषा नै पुनर्परिभाषित गर्दै जानुपर्ने बताएकी छन्।
‘स्वास्थ्य सेवाको उपलब्धता, पहुँच र सेवा प्रवाहको विषयलाई हेरेर मात्र गुणस्तरीय सेवा भन्न मिल्दैन,’ उनले भनिन्, ‘सेवा प्रवाहबाट बिरामी तथा सेवाग्राही कत्तिको सन्तुष्ट छन्, सेवा दिने जनशक्ति कति दक्ष छन्, सेवाग्राहीले कति समयभित्र सेवा पाए, उपकरण तथा अन्य पूर्वाधारहरू के कस्ता छन् लगायतका सबै विषय गुणस्तरका विषय समावेश गरी पुनर्परिभाषित गर्न आवश्यक छ।’
उनले उच्च गुणस्तरीय उपचार सेवा उपलब्ध गराउने हो भने विश्वभर वार्षिक ८६ लाख मानिसको अकालमा हुने मृत्युबाट बचाउन सकिने जानकारी दिइन्। प्रतिवेदनमा रहेको कुरा उल्लेख गर्दै उनले नेपालमा वार्षिक ४६ हजारलाई अकालमा हुने मृत्युबाट बचाउन सकिने बताइन्।
द ल्यान्सेट ग्लोबल हेल्थ कमिसनका सदस्य तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले गुणस्तरीय स्वास्थ्य सेवालाई राज्यले सुनिश्चित गर्नुपर्ने बताए।
‘सरकारले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँछौं भनेर मात्र पुग्दैन। यसको सुनिश्चित नै गर्नुपर्छ,’ उनले भने, ‘संविधानमा मौलिक हक भनेर उल्लेख गरिएको छ। अब त्यसलाई कार्यान्वयनमा ल्याउन गुणस्तरीय सेवालाई सुनिश्चित गर्नैपर्छ।’
उनले भिभिआइपी, भिआइपी, राजनीतिक दलका नेतादेखि स्थानीय तहका जनप्रतिनिधिले आफ्ना क्षेत्रका सरकारी स्वास्थ्य संस्थामा ढुक्क भएर उपचार गर्ने अवस्था नआएसम्म गुणस्तरमा सुधार नआउने बताए।
‘उच्च गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने कुरा अहिले, आज र स्वास्थ्य मन्त्रालयले मात्र गर्छु भनेर पुरा हुनसक्दैन,’ उनले भने, ‘यसका लागि ठूलो राजनीतिक प्रतिबद्धता सहित निश्चित कार्ययोजना बनाएर प्रणाली विकास गर्नुपर्छ।’
स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा सुशीलनाथ प्याकुरेलले संविधानमा उल्लेख भए अनुसारको आधारभूत स्वास्थ्य सेवालाई गुणस्तरीय दिन सकेमा मात्र गुणस्तरको समस्या ८० प्रतिशतले सुधार आउने बताए। उनले स्वास्थ्य क्षेत्रमा विश्व स्वास्थ्य संगठनले भनेझैं १० प्रतिशत बजेट उपलब्ध गराउँदै जनशक्ति, उपकरण र पूर्वाधारमा लगानी गर्न सकेमात्र उच्चस्तरको गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न सकिने जानकारी दिए।
कमिसनका नेपाल उपाध्यक्ष डा भगवान कोइरालाले जबाफदेहिताको कमी, दक्ष जनशक्तिको अभाव, प्राविधिक सिपको कमी, उपकरण, पुर्वाधार जस्ता कुराको समस्या लगायतका कारण गुणस्तरका विषयमा प्रश्न उठिरहेको बबताए।
प्रतिवेदनमा रहेका गुणस्तरीय स्वास्थ्य सेवाका विषयमा शुक्रबार पनि छलफल कार्यक्रम हुनेछ। अध्यक्ष डा क्रुकले शुक्रबार नागरिक समुदायका अगुवाहरुसँग यी विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ। सोही अवसरमा ‘गुणस्तरीइ स्वास्थ्यका लागि सामाजिक अभियान’ समेत सुरु गर्ने कार्यक्रम रहेका पब्लिक पोलिसी पाठशालाका अध्यक्ष प्रताप पौडेलले जानकारी दिए।
उनका अनुसार नेपाल भ्रमणमा रहेकी डा क्रुकले गुणस्तरीय स्वास्थ्यका विषयमा स्थानीय तहका प्रतिनिधि, अनुसन्धानकर्तासँगको भेटघाटसहित केही स्वास्थ्य संस्थाको स्थलगत अवलोकनसमेत गरेकी छन्।