काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव रामप्रसाद थपलियाले माताहतका कर्मचारीलाई ११ बुँदे निर्देशक दिएका छन्। सेवा प्रवाहलाई प्रभावकारी बनाउन सचिव थपलियाले उक्त निर्देशन दिएका हुन्।
थपलियाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेको एक महिना पुरा भएको छ। यो अवधिमा उनले विभाग, महाशाखा, केन्द्र तथा शाखाका कर्मचारीसँग छलफल गरेका थिए। माताहतका कर्मचारीहरुले दिएको सुझाब तथा छलफलका आधारमा सचिव थपलियाले ११ बुँदे निर्देशन दिएको मन्त्रालयका एक कर्मचारीले जानकारी दिए।
मन्त्रालयका एक उच्च कर्मचारीका अनुसार सचिव थपलियाले मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्भेक्षण गर्ने विषय कर्मचारी समायोजन प्रक्रिया टुंगो लागेपछि कर्मचारी प्रशासन महाशाखाले प्रक्रिया अगाडि बढाउने निर्णय गरेका छन्। ११ बुँदे निर्देशनको पहिलो नम्बर बुँदामा यो विषय उल्लेख छ।
यस्तै दोस्रो नम्बरमा मन्त्रालयबाट विभिन्न स्वास्थ्य संस्थाहरुसँग विगतमा भएका समझदारीपत्रमा समयानुकल परिमार्जन वा परिवर्तन गर्नुपर्ने देखिएमा प्रदेश तथा स्थानीय तहसमेतको समन्वय र सिफारिसमा मन्त्रालयले आवश्यक प्रक्रिया अघि बढाउने उल्लेख छ। यस सम्बन्धमा मातहतका विभाग तथा केन्द्रहरुलाई संघीयताको मर्म र भावना अनुरुप मन्त्रालयको पूर्व स्वीकृति लिएर मात्र प्रक्रिया अघि बढाउन निर्देशन दिइएको छ।
तेस्रो नम्बरमा मन्त्रालयबाट स्विकृत भएका रणनीति, निर्देशिका र कार्यविधि लगायतका विषयहरु प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत प्रदेश सरकारलाई तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सम्बन्धित स्थानीय तहहरुलाई पठाउने व्यवस्था मिलाउने र यसका लागि व्यवस्था गर्न मातहतका विभाग तथा केन्द्रलाई लेखी पठाउने विषय उल्लेख छ।
महाशाखा प्रमुखले विभिन्न निकायका बैठकमा भाग लिन जाँदा सचिवलाई जानकारी गराएर जाने तथा छलफलको विषयको बारेमा ब्रिफिङ गराउने प्रणालीलाई सुदृढ गर्दै जाने विषय चौँथो नम्बर बुँदामा छ।
हेल्थ म्यानेजमेन्ट इन्फरमेसन सिस्टमलाई समयसापेक्ष प्रभावकारी बनाउन नीति, योजना तथा अनुगमन मूल्यांकन महाशाखाले थप समन्वय र क्रियाशिलता बढाउने विषय पाँच नम्बर बुँदामा उल्लेख छ।
६ नम्बर बुँदामा ‘आगामी वर्षको बजेट कार्यान्वयनलाई आर्थिक वर्षको सुरुदेखिनै प्रभावकारी बनाउन बजेट कार्यान्वयनको लागि आवश्यक पर्ने कार्ययोजना १५ दिनमा नीति, योजना तथा अनुगमन मूल्यांकन महाशाखामा बुझाउन सम्बन्धितलाई लेखी पठाउने’ उल्लेख छ।
बेरुजु फर्छयौटमा भएको प्रगति सन्तोषप्रद नभएकाले सम्बनिधत निकायलाई सहभागी गराई बैठक बोलाउन आन्तरिक प्रशासन शाखाले समन्वय गर्ने विषय ७ नम्बर बुँदामा छ।
दैनिक भ्रमणभत्ता लगायतका मन्त्रालयबाट हुने भुक्तानीलाई प्रणालीमा आवद्ध गर्न सम्बनिधत कर्मचारीको बैंकखाता मार्फत नै भुक्तानी गर्ने व्यवस्था मिलाउने विषय ८ नम्बर बुँदामा उल्लेख छ।
यसैगरी, ९ नम्बर बुँदामा विदेश भ्रमण मनोनयन सिफारिस सम्बन्धी कार्यलाई आवधिकरुपमा समयमै सम्पन्न गर्न प्रशासन महाशाखा प्रमुख र स्वास्थ्य समन्यव महाशाखा प्रमुखले समन्वय गरी समय समयमा बैठक बस्ने व्यवस्था मिलाइ समयमै सिफारिस गर्ने। इसरी सिफारिस गर्न समितिले निर्देशिकाको विधि प्रक्रिया अनुरुप गर्न कठिनाई भए जानकारी गराउने विषय छ।
मन्त्रालय, विभाग, केन्द्रियस्तर कार्यालय लगायतका महाशाखा, शाखाहरुले पत्राचार गर्दा निर्णय भएकोमा निर्णयअनुसार, आदेश भएकोमा आदेशअनुसार र निर्देशन भएकोमा निर्देशानुसार केहो? स्पष्ट हुनेगरी पत्राचार गर्ने व्यवस्था १० औं बुँदामा छ।
११ औं बुँदामा ‘स्वास्थ्यसँग सम्बन्धित सरकारी, अर्धसरकारी संघसंस्थाहरुलाई विभिन्न साझेदार निकायहरुमा सहयोगको सिफारिस गर्ने सन्दर्भमा सहयोग लिन चाहने संस्थाको स्वरुप कार्यप्रकृति, उद्धेश्य, लक्ष्य स्पष्ट गरी के कस्तो सहयोग लिन चाहेको हो? सोको स्वरुप स्पष्ट गरी कारबाही प्रक्रिया अगाडी बबढाउने व्यवस्था मिलाउने’ उल्लेख छ।