धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले कैलाली र कञ्चनपुरमा बिहीबार आएको विनाशकारी हावाहुरीबाट घाइते भएका सम्पूर्णको उपचार प्रदेश सरकारले गर्ने निर्णय गरेको छ।
प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले पत्रकार सम्मेलन गरी सम्पूर्णको क्षतिको विवरण संकलन गरी राहत घोषणा गर्ने बताए। 'अहिले सुरक्षा निकायले क्षतिको विवरण संकलन गरिरहेको छ । विवरणका आधारमा पीडितलाई राहत उपलब्ध गराइने छ,' उनले भने।
मन्त्री शाहले हावाहुरीका कारण विद्धुत, खानेपानी, टेलीफोन लगायतका सेवा अवरूद्ध भएको बताए। 'राजमार्ग अवरूद्ध छैन। कैलालीको हुलाकी राजमार्गमा रूख ढलेकाले आवगमनमा समस्या भएको छ। सुरक्षा निकायलाई तत्काल सडक आवगमन सुचारू गर्न निर्देशन दिइसकेको छु,' उनले भने।
प्रदेश सरकारले मृतकप्रति श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ। बिपदको घडीमा प्रदेश सरकारले आआफनो ठाउँबाट सहयोग गर्न समेत सम्पूर्णमा अपिल गरेको छ।
बिहीबार राति आाएको हावाहुरीबाट कैलालीमा दुई जनाको मृत्यु भएको छ भने एक सय जना घाइते भएका छन्। कैलालीमा हावाहुरीमा परी ७६ र चट्यांगबाट एक गरी ७७ र कञ्चनपुरमा २३ जना घाइते भएका थिए। घाइतेमध्ये कञ्चनपुरका १५ र कैलालीका ६६ जना सामान्य उपचार गरी घर पठाइएको छ।
कञ्चनपुरका आठ जनाको कैलालीको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ। सुरक्षा प्रमुखहरूका अनुसार १० जना गम्भीर अवस्थामा रहेको जनाइएको छ।
यसैगरी, नेकपा कैलालीले प्रेस विज्ञप्ति जारी गरेर हावाहुरीबाट पीडितको उद्धार, उपचार गर्न, राहत दिन र पुनर्निर्माण गर्न माग गरेको छ।
नेपाली काँग्रेस संसदीय दलको कार्यालयले पनि पीडितलाई तत्काल राहत उपलब्ध गराउन माग गरेको छ।
नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले घाइतेहरुको उपचार र क्षतिको विवरण संकलन गरी क्षतिपूर्ति यथाशीघ्र व्यवस्था गरी जनतालाई राहत दिन सरकारसँग माग गरेको छ।