काठमाडौं– पूर्व स्वास्थ्यमन्त्री एवं नेपाली कांग्रेसका सांसद गगन थापाको अगुवाइमा जीवन बचाउने अभियानअन्तर्गत आज कालोपुलमा स्तन र पाठेघरको मुख क्यान्सरको निःशुल्क जाँच शिविर हुँदैछ।
शिविर बिहान १० देखि ३ बजेसम्म सञ्चालन हुनेछ। कालोपुलस्थित नेपाली कांग्रेस काठमाडौं कार्यालय परिसरमा हुनेछ।
सांसद थापाको अगुवाईमा काठमाडौं निर्वाचन क्षेत्र नं ४ को वडा नम्बर ३० मा जीवन बचाउने अभियानअन्तर्गत हरेक शनिबार स्वास्थ्य शिविरको कार्यक्रम सञ्चालन हुँदै आइरहेको छ। यो अभियान अझै ७ वटा शनिबारसम्म चल्ने बताइएको छ।
शिविरअन्तर्गत पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको निःशुल्क परीक्षण हुँदै आइरहेको छ। यो अभियानअन्तर्गत १० वटा शिविर उक्त वडाका विभिन्न स्थानमा हुन्छ। पहिलो शिविर मैतिदेवी मन्दिर पछाडि भइसकेको छ भने दोस्रो शिविर सांसद थापाको कार्यालय ज्ञानेश्वरमा भएको थियो।
यसअघि भएका दुई शिविरमध्ये ज्ञानेश्वरमा भएको शिविरमा एक सय १० जनाको निशुल्क जाँच गरिएको थियो। जसमध्ये ४ जनामा समस्या भेटिएको छ। समस्या देखिएकाहरुको समस्या समाधानका लागि आयोजकले सहयोग गर्ने छन्।
मैतिदेवीमा भएको शिविरमा १ सय ८० जनाले सेवा लिएका थिए। जसमध्ये १४ जनामा समस्या देखिएको छ।
शिविरको मेडिकल सहयोगी नेपाल क्यान्सर रिलिफ सोसाइटी रहेको छ। शिविरलाई कामना सेवा विकास बैंक, मानव स्वास्थ्य र काठमाडौं महानगरपालिका वडा नम्बर ३०ले पनि सहयोग गरेको छ।
काठमाडौं निर्वाचन क्षेत्र नं ४ को संसदको कार्यलयमार्फत सांसाद थापाले यो अभियान सञ्चालनमा ल्याएका हुन्। शिविरसँगै सो वडाका प्रत्येक घरको स्वास्थ्य स्थिति सर्वे पनि हुँदै आएको छ।