भैरहवा- भैरहवा अञ्चवपुरका उमबहादुर खड्का कपिलवस्तुको रामघाटमा ज्वाइँको मलामी गएर फर्कंदै थिए। पकडीमा बस दुर्घटनामा पर्यो। खड्कासहित २७ जना घाइते भए।
गत बुधबार साँझ सिद्धार्थ यातायात व्यवसायी संघमा आबद्ध लु १ ख ७७५२ नम्बरको गाडी दुर्घटनामा परेको हो। घाइतेहरुलाई उपचारका लागि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल ल्याइयो। सुरुमा राम्रै उपचार भए पनि अर्को दिनदेखि लापरबाही हुन थालेको बिरामीहरुले जनाएका छन्।
उपचारमा रहेका खड्काको दाहिने हात भाँच्चिएको छ। उनको अपरेसन गर्नुपर्ने चिकित्सकले नै सुझाव दिएका थिए। तर, रकम अभावका कारण चिकित्सकले आफ्नो अपरेसन आइतबारका लागि सारिएको उनले बताए।

यातायात व्यवसायी समिति, गाडी धनी र मेडिकल कलेजको द्वन्द्वका कारण आफूले समयमा उपचार नपाएको गुनासो खड्काको छ।
'दुर्घटना हुँदा नै सरकारी अस्पतालमा भर्ना गरेको भए यो समस्या भोग्नुपर्ने थिएन,' उनले भने, 'अहिले अस्पतालले कतै जान पनि दिँदैन। अपरेसनका लागि आफूसँग पैसा पनि छैन। बस समिति अहिलेसम्म भेट्न समेत आएको छैन।'
दुर्घटनामा परेका अरु घाइते पनि खड्का जस्तै सास्ती खेप्न बाध्य छन्।
दुर्घटनामा खड्कासहित बसन्त पुलामी, वीरबहादुर जिसी, मुक्ति पत्थरकट्टा, शंकर चौधरी, लिलाराम भण्डारी, अनिल खड्का गम्भीर घाइते छन्। तीमध्ये अनिल खड्काको मात्रै थप उपचार थालिएको छ। उनको आफन्तले २० हजार धरौटी जम्मा गरेपछि उपचार थालिएको हो।
कतिपय घाइतेको हातखुट्टा भाँचिएको छ भने केहीको छाती, टाउको र खुट्टामा गहिरो चोट लागेको छ।

अस्पतालबाट डिस्चार्ज भएका घाइते पनि यातायात समिति, गाडी धनी र अस्पतालको समन्वय अभावका कारण घर जान नपाएको घाइते राजन कार्कीले बताए।
गाडी धनी जीवन पाण्डे भने समितिले बेवास्ता गर्दा बिरामी अलपत्र परेको बताउँछन्। 'चलानी काटेर गाडी चलाएका हौं, अहिले समितिले मतलब नै गरेको छैन,' उनले भने, 'यसका कारण बिरामीलाई समस्या परेको छ।'
दुर्घटनामा परेपछि उपचारको दायित्व समितिको रहे पनि समितिका कोही पनि पदाधिकारी अहिलेसम्म अस्पताल नआएको बिरामीका आफन्तले गुनासो गरेका छन्। 'अस्पतालदेखि ५/६ सय मिटरको दुरीमा रहेको सिद्धार्थ यातायात व्यवसायी समितिले ध्यान नदिँदा घाइतेहरु मर्कामा छन्। हामीले पनि तनाव झेल्नुपरेको छ,' घाइतेका आफन्त कुन्दन सिंहले भने।
.JPG)
बस व्यवसायी समितिले भने गाडी धनीले आन्तरिक नियम नमानेको कारण ठूलो रकम भुक्तानी गर्न सक्ने अवस्थामा समिति नरहेको बताएको छ। सिद्धार्थ यातायात व्यवसायी समितिका वरिष्ठ उपाध्यक्ष सुनिल विष्टले चालकको लापरबाहीले दुर्घटना भएकाले क्षतिपूर्तिको विषयमा केही समय लागेको जिकिर गरे।
यता अस्पताल प्रशासन भने बिरामीको उपचार गरेबापतको रकम नपाएकाले बिरामी छोड्न नमिल्ने तर्क गर्दै आएको छ। अस्पतालका जनसम्पर्क अधिकृत सुशील गुरुङले उपचार खर्चको ग्यारेन्टी नभएकाले बिरामीलाई डिस्चार्ज गर्न गाह्रो भएको बताए। 'बिरामीलाई घर पठाएपछि पैसा कसले तिर्छ भन्ने स्पष्ट छैन,' उनले भने।
.JPG)
घाइतेमध्ये सामान्य चोटपटक लागेका ५ जना बिरामी घर गए पनि अन्य बिरामी रकम अभावमा अस्पतालमै बन्धकझैं बस्न बाध्य छन्।