हुम्ला– कर्णाली प्रदेशको अति विकट हुम्ला जिल्लाका बिरामीले गाउँमै पहिलो पटक विशेषज्ञ डाक्टरद्वारा उपचार गराएका छन्।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले हुम्ला जिल्लामा आयोजना गरेको निःशुल्क शिविरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट खटिएको विशेषज्ञ टोलीले हुम्लाका दुर्गम गाउँमै पुगेर सामान्यदेखि जटिलसम्मको अप्रेसन गरेको छ।
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा विशेषज्ञ चिकित्सकहरु गाउँमै पुगेर उपचार र अप्रेसन गरेको यो पहिलो पटक हो।
सर्केगार्ड, अदानचुली, ताजाकोट गाउँपालिकाका ५ हजार भन्दा बढी बिरामीलाई उपचार गरिएको छ।
ताजाकोट गाउँपालिकामा १ हजार २ सय बिरामीमध्ये ९ जनाको हाडजोर्नी अप्रेसन र ४२ जनाको दाँतको उपचार गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मंगल रावलले जानकारी दिए।
अदानचुली गाउँपालिकामा २ हजार बिरामीमध्ये ८७ जनाको दाँत र २३ जना हर्नियाका बिरामीलाई उपचार गरेको हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर रावलले बताए।
१६ जनाको जटिल अप्रेसन
सर्केगार्ड गाउँपालिकामा १ हजार ८ सय ६० जनाको चेकजाँच गरिएको छ। तीमध्ये १६ जनाको जटिल अप्रेसन गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर रावलको भनाइ छ।
१ सय २८ दाँतसम्बन्धी अप्रेसन सर्केगार्ड गाउँपालिकामै गरिएको उनले बताए। उपचारका लागि आउने अधिकांश बिरामी ३ महिनाका बालबालिकादेखि ८५ वर्ष उमेरका बृद्धबृद्धा रहेको डा रावलले बताए।
शिविरमा हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मंगल रावल, जनरल सर्जन हरिहर देवकोटा, एनेस्थेसियोलोजिस्ट डाक्टर रमेश भट्टराई, जिल्ला अस्पताल हुम्लाका डा अमित विष्ट, दन्तरोग सर्जन भुमेश काफ्ले जिल्ला अस्पताल हुम्लाका मेडिकल अफिसर डा नवीन रोकाया, फिजियोथेरापिस्ट विष्णुदत्त आचार्य, जनरल सर्जन मानिक न्यौपाने र डा विज्ञान प्रजापती लगायतको विशेषज्ञ टोलीले सेवा दिएको थियो।