कैलाली– सुदूरपश्चिम प्रदेश सभामा आयुर्वेद प्रतिष्ठान स्थापना सम्बन्धी विधेयक टेबल भएको छ।
आइतबारको प्रदेश सभा बैठकमा सुदूरपश्चिम आयुर्वेद प्रतिष्ठान स्थापना र सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ प्रदेश टेबल भएको हो। सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले उक्त विधेयक सभामा टेबल गरेका हुन्।
प्रदेशमा आयुर्वेदको प्रचुर सम्भावना रहेकाले त्यसको उचित सदुपयोग, जनतालाई आयसर्वेदिक उपचार सेवा, शिक्षण र प्राकृतिक उपचारको अनुसन्धानका लागि उक्त विधेयक ल्याएको सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले बताए।
विद्येयक पारित भएपछि यो विधेयकले प्रदेशका जनतालाई एलोपेथिकसँगै आयुर्वेदको स्वास्थ्य सेवा एवं प्राकृतिक औषधि उपचारमा सहज हुने उनको भनाइ छ। विश्वविद्यालय स्तरको मान्यता पाउनेगरी प्रदेश सरकारले आयुर्वेद प्रतिष्ठान गठन गर्न विधेयक प्रस्तुत गरेको सामाजिक मन्त्री सुवेदीले बताए।
यस्तै आजको प्रदेश सभा बैठकबाट प्रदेश लोक सेवा आयोगसम्बन्धी विधेयकलाई दफावार छलफलका लागि विधायन तथा प्रदेश मामिला समितिमा पठाइएको छ। विधेयकमाथि कुनै पनि प्रदेश सांसदको संशोधनको प्रस्ताव नआएकोले सो विधेयकलाई दफावार छलफलका लागि विधायन समितिमा पठाइएको हो। प्रदेश सभाको अर्को बैठक सोमबार (आज) दिउँसो २ बजे आह्वान गरिएको छ।