काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका कर्मचारीको समायोजनको काम छिट्टै सकिने सम्भावना बढेर गएको छ। समायोजनका क्रममा गुनासो दर्ता गराएका १३ हजारभन्दा बढीमध्ये ७ हजार ७ सय ४० जनाको गुनासो जायज ठहर भएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक एक जनाको गुनासो केलाउँदै तयार पारेको प्रतिवेदनले उक्त संख्या देखाएको हो। यो संख्यापछि जायज ठहर भएका कर्मचारीको समायोजन छिट्टै समाधान गर्ने तर्फ काम अगाडि बढेको मन्त्रालयका एक कर्मचारीले जानकारी दिए।
सोमबार गुनासो सुनुवाइ प्राविधिक उपसमितिले जायज ठहर भएका गुनासालाई सच्याउँदै समायोजन प्रक्रिया टुंग्याउन सामान्य प्रशासनका सचिव समक्ष सिफारिस गरेको छ। समितिको सिफारिस अनुसार काम अगाडि बढाउन सचिवले हस्ताक्षर समेत गरिसकेको मन्त्रालय स्रोत बताउँछ।
सरकारले स्वास्थ्य सेवा अन्तर्गतका २७ हजार कर्मचारीको समायोजनको सूची सार्वजनिक गरेको थियो। तर, उक्त सूचीमा धेरै समस्या आएपछि वैशाख ५ गतेसम्म गुनासो दर्ता गर्न समय दिइएको थियो। सो अवधिमा गुनासो दर्ता गरेकामध्ये जायज ठहर भएकाको समस्या समाधान गर्ने गरी काम अगाडि बढेको एक कर्मचारीले जानकारी दिए।