स्याङ्जा– स्याङजाको वालिङमा डायलाइसिस सेन्टर सञ्चालन हुने भएको छ।
डायलाइसिस सेन्टर सञ्चालनका लागि वालिङ नगरपालिका र बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालबीच सम्झौता भइसकेको छ।
सम्झौतापत्रमा वालिङ नगरपालिकाका प्रमुख दिलिपप्रताप खाँड र गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले हस्ताक्षर गरेका छन्।
वालिङ नगरपालिका– १० मा रहेको सरकारी भवन (फूलवारी गेष्ट हाउस) मा रोटरी सामुदायिक डायलाइसिस सेन्टर, वालिङको नामबाट सञ्चालन गरिने सेन्टरको लागि नगरपालिकाले अस्पताललाई उक्त भवन मर्मतसम्भार गरी निःशुल्क प्रयोग गर्न दिने छ।
सेन्टरको संरक्षकत्व भने वालिङ नगरपालिकाको रहनेगरी सम्झौता गरिएको छ। उक्त सेन्टर रोटरी क्लव अफ वालिङको सहयोगमा सञ्चालन गर्न लागिएको हो।
पहिलो पटक १५ वर्षको लागि गरिएको सम्झौता अवधि दुवै पक्षको सहमति र आवश्यकता अनुसार थपघट गर्न पनि सकिने वालिङ नगरपालिकाका प्रमुख खाँडले जानकारी दिए।
स्याङ्जाका वालिङ, गल्याङ लगायत आसपासका क्षेत्रबाट मिर्गौलाका बिरामीले सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको डायलाइसिस सेवा लिन समेत टाढा जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै वालिङमा डायलाइसिस सेन्टर सञ्चालन गर्न लागिएको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए।
उक्त सेन्टरमा पहिलो चरणमा १० वटा मेसिन जडान गरी डायलाइसिस सेवा सुरु गरिने र आवश्यकता अनुसार मेसिन थप गर्न सकिने अध्यक्ष आलमले बताए।
रोटरी क्लव अफ वालिङका अध्यक्ष मधुसुदन आचार्यले डायलाइसिस सेन्टर सञ्चालन हुने भवन मर्मतसम्भार गर्नुपर्ने भएको हुँदा ३ महिनाभित्र भवन तयार गरी सेवा प्रदान गर्ने लक्ष्य रहेको जानकारी दिए।