काठमाडौं– सिन्धुली अस्पतालमा कार्यरत चिकित्सकमाथि अस्पताल परिसरमै गालीगलोज तथा अभद्र व्यवहार गरिएको छ।
अस्पतालको आकस्मिक कक्षमा कार्यरत डा दिवस ढकालमाथि सोमबार राति साढे ११ बजे केही व्यक्तिले हातपातसहित गालीगलोज गर्दै अभद्र व्यवहार गरेको अस्पतालमा कार्यरत कर्मचारी बताउँछन्।
ड्युटीमा रहेका डाक्टरमाथि हातपात गर्नेलाई कारबाही गर्न माग गरिएको छ।
नेपाल चिकित्सक संघले मंगलबार विज्ञप्ति जारी गर्दै डाक्टर तथा स्वास्थ्यकर्मीलाई हातपात गर्नेलाई बिना धरौटी जेल चलान गरेर कारबाही प्रक्रिया अगाडि बढाउन माग गरेको छ।
‘ सिन्धुली अस्पतालको आकस्मिक कक्षमा कार्यरत नेपाल चिकित्सक संघका आजीवन सदस्य डा दिवस ढकालज्यूमाथि मिति २०७६ जेठ २७ गते राति ११:३० बजे अस्पताल परिसरमै गरिएको अभद्र व्यवहार, गालीगलJज तथा शारीरिक हमलाप्रति नेपाल चिकित्सक संघ घोर भर्त्सना र निन्दा गर्दछ,’ संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
संघले घटनामा संलग्न दोषीहरुलाई कानुनी दायरामा ल्याउनका लागि हालको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ र नियमावली २०६९ लाई आवश्यक परिमार्जन गरी बिना धरौटी जेल चलान को प्रावधान समावेश गरेर कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइसकेको व्यहोरा स्मरण गराउँदै स्थानीय सुरक्षा निकायले उक्त ऐन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउन माग गरेको छ।
संघले जारी गरेको प्रेस विज्ञप्ति
स्वास्थ्य सेवा जस्तो संवेदनशील सेवामा कार्यरत चिकित्सकमाथि बिना कुनै कारण गालीगलोज, शारीरिक हातपात जस्ता अत्यन्तै निन्दनीय क्रियाकलापले चिकित्सकलाई मात्र नभई समग्र स्वास्थ्य संस्थाको वातावरणलाई नै खलल पुर्याइएकोमा नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको छ।
सिन्धुली अस्पतालको आकस्मिक कक्षमा कार्यरत नेपाल चिकित्सक संघका आजीवन सदस्य डा दिवस ढकालज्यूमाथि मिति २०७६ जेठ २७ गते राति ११:३० बजे अस्पताल परिसरमै गरिएको अभद्र व्यवहार, गालीगलोज तथा शारीरिक हमलाप्रति नेपाल चिकित्सक संघ घोर भर्त्सना र निन्दा गर्दछ। स्वास्थ्य संस्थाको शान्तिपूर्ण वातावरणलाई आपराधिक क्रियाकलापका कारण बारम्बार असहजता प्रदान गर्ने घटनाक्रमले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई मात्र नभई अन्य सर्वसाधारण नागरिकलाई समेत गम्भीर असर पुग्ने भएको हुँदा यस घटनामा संलग्न दोषीलाई तत्काल कानुनी दायराभित्र ल्याई कारबाही गर्न नपाल चिकित्सक संघ, स्थानीय सरकार तथा सुरक्षा निकाय समक्ष जोडदार माग गर्दछ।
यस्ता प्रकारका घटनामा संलग्न दोषीहरुलाई कानुनी दायरामा ल्याउनका लागि हालको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ र नियमावली २०६९ लाई आवश्यक परिमार्जन गरी बिना धरौटी जेल चलानको प्रावधान समावेश गरेर कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आइसकेको व्यहोरा स्मरण गराउँदै स्थानीय सुरक्षा निकायले उक्त ऐन बमोजिम कारवाही प्रक्रिया अगाडि बढाउन समेत अनुरोध गरिन्छ ।
माथि उल्लेखित ऐनको अक्षरस कार्यान्वयन गरी संवेदनशील क्षेत्रमा आपराधिक मानसिकता बोकेका व्यक्तिहरुलाई कडा कारबाही नगरिएको खण्डमा असुरक्षित वातावरणमा स्वास्थ्य सेवा प्रदान गर्न नसकिने परिस्थितिप्रति सरोकारवाला निकायले गम्भीर रुपमा मनन गर्न यस संघ आग्रह गर्दछ।
डा मुक्तिराम श्रेष्ठ
अध्यक्ष