काठमाडौं- सरकारी चिकित्सक संघ नेपाल (गोदान)ले सिन्धुली अस्पतालमा कार्यरत डा दिवस ढकालमाथि हातपात गर्ने र अभद्र व्यवहार गर्ने व्यक्तिलाई कारबाही गर्न माग गरेको छ।
संघले आज विज्ञप्ति जारी गर्दै दोषीलाई धरौटीमा रिहा गर्न नमिल्ने गरी जेल चलान गर्न माग गरेको हो।
अस्पतालको आकस्मिक कक्षमा कार्यरत डा दिवस ढकालमाथि सोमबार राती साढे ११ बजे कृष्ण बस्नेत नाम गरेका व्यक्तिले हातपात र अभद्र व्यवहार गरेको संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिको पूर्णपाठ :
मिति २०७६/०२/२७ गतेका राती सिन्धुली अस्पतालको आकस्मिक कक्षमा कार्यरत चिकित्सक डा. दिवस ढकाल माथि कमलामाई न.पा.-१० बस्ने कृष्ण बस्नेत नाम गरेको व्यक्तिबाट अभद्र व्यवहार, निच स्तरको अपसब्द प्रयोग तथा हातपात भएको सुचना प्रति यस संघको गम्भीर ध्यानाकर्षण भएको छ।
यस्ता अराजक तत्वलाई स्थानीय समाज र कानुनी निकायले तत्काल दण्डित गर्न तथा निज चिकित्सक तथा अस्पतालमा यथेष्ट सुरक्षाको ग्यारेन्टी गरी निजलाई न्याय दिलाउन समेत नेपाल सरकार र सम्बन्धित सबै समक्ष यो संघ जोडदार माग गर्दछ।
यो संघ पटक पटक यस्ता कुकृत्यलाई निरुत्साहित गर्न “धरौटीमा रिहा नमिल्ने जेल चलान”को नियम लागु गर्नुपर्ने भनी नेपाल सरकारलाई माग गर्दै समेत आएकोमा यस संघका उपरोक्त नन्यायोचित मागहरूको बेवास्ता गरी सम्बन्धित निकायहरू मूकदर्शक भई उपरोक्त अराजकता प्रति गम्भीर नभए सम्पूर्ण सरकारी चिकित्सकहरू आफ्नो पेशागत सुरक्षाको लागि देश-व्यापी आन्दोलन गर्न पुन: बाध्य हुने भनी सम्बन्धित सबैलाई यो संघ सचेत गराउँदछ।
अध्यक्षः
डा. दिपेन्द्र पाण्डे