काठमाडौं– चितवनस्थित कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज) टिचिङ अस्पतालमा लामो समयपछि मिर्गौला प्रत्यारोपण भएको छ। करिब चार वर्षअघि नै लाइसेन्स पाएको कलेजले तेस्रो मिर्गौला प्रत्यारोपण गरेको हो।
गत सोमबार प्राडा राकेश बर्माको टोलीको साढे तीन घन्टा लगाएर भक्तपुर– ६ निवासी ५४ वर्षीय विष्णुगोपाल बतासको मिर्गौला प्रत्यारोपण गरेको हो। उनलाई २५ वर्षीय आफ्ना भान्जा रिजनवीर जोशीले मिर्गौला दिएका हुन्।
‘प्रत्यारोपण भएका बतासको स्वास्थ्य सुधारोन्मुख छ। हामी खुसी छौं,’ डा बर्माले भने। उनले अब दोस्रो केस पनि छिट्टै गर्ने बताए।
प्रत्यारोपणका लागि आफ्नो नेतृत्वमा डा प्रवीण जोशी, डा सुदीपराज केसी, डा भुषण तिमल्सेना, डा माधव घिमिरे, डा वीरेन्द्र यादव लगायतको टोली खटिएको डा बर्माले बताए।
प्रत्यारोपणपछि उत्साहित भएका डा बर्माले पुरानो मेडिकल कलेजमा मिर्गौला प्रत्यारोपणले नियमितता पाउने बताए। उनले आफूले अब पुरानो मेडिकल कलेजबाट सेवामा निरन्तरता दिने बताए। ‘मैले अब यता नै निरन्तरता दिन्छु। म यता आवद्ध भएर नै यो सेवा सुरु भएको हो,’ डा बर्माले भने।
यसअघि उनी भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कार्यरत थिए। उनले भरतपुरमा कलेजो प्रत्यारोपणको समेत तयारी भएको बताए।
यता प्रत्यारोपण केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठले उपत्यकाबाहिर प्रत्यारोपण सुरु हुनु राम्रो काम भएको बताए। उनले आफ्नो अस्पतालको टोली गएर पुरानो मेडिकल कलेजमा मिर्गौला प्रत्यारोपण सफल गराएको जानकारी पाएको भन्दै खुसी व्यक्त गरे।