कपिलवस्तुस्थित शिवराज अस्पतालमा बुधबार आफूलाई स्थानीय नेता बताउने दुईजना व्यक्तिले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार गरेका छन्। अस्पतालको माइनर शल्यकक्षभित्र नै पसेर उनीहरुले हातपातको प्रयास र गालीगलौज गरेको डाक्टर तथा स्वास्थ्यकर्मीले बताएका छन्। घटनालगत्तै सरकारी चिकित्सक संघ (गोदान)ले दोषीलाई कडा कारबाहीको माग गरेको छ। संघले डाक्टर तथा स्वास्थ्यकर्मीको सुरक्षाको माग समेत गरेको छ।
शिवराज अस्पतालमा कार्यरत मेडिकल अधिकृत डाक्टर वैभव पाण्डेसँग घटनाको विषयमा स्वास्थ्यखबरकी सिर्जना खत्रीले कुराकानी गरेकी छिन्। आखिर के भएको थियो त? डाक्टर पाण्डेले दिएको जानकारी उनकै शब्दामा :
कपिलवस्तुस्थित शिवराज अस्पतालमा बुधबार (हिजो) बिरामी जाँच गर्दै थियौँ। दिउँसो साढे दुई बजेको थियो। ६÷७ जनाको एउटा समूह पाँच जना घाइते बिरामी लिएर अस्पताल आयो। उनीहरु बालुवा लोड गर्न गएको बेलामा गाउँलेहरुले कुटेर घाइते भएको बताउँदै थिए।
दुई जनालाई सामान्य चोट लागेकोले टाँका लगाइदियौं। अरु तीन जनाको भने टाउकोमा चोट लागेकोले सामान्य शल्याक्रिया गर्नुपर्ने देखियो।
हामी शल्यक्रिया कक्षमा लगेर उनीहरुको सामान्य शल्यक्रिया गर्दै थियौं। अस्पताल ल्याउने मध्येका रवीन्द्र मिश्र र शिवकुमार गुप्ता जबरजस्ती शल्यक्रिया कक्षमा प्रवेश गरे। शल्यक्रिया कक्षमा बाहिरको मान्छे प्रवेश गर्न पाइँदैन भनेर सम्झाउने कोसिस गर्यौं तर उनीहरु अपशब्द बोल्दै शल्यक्रिया गर्ने ठाउँमै पुगे।
मैले यहाँ बस्न मिल्दैन, बाहिर बस्नुस्, सामान्य शल्यक्रिया हो, उहाँहरुलाई निको हुन्छ भनेपछि उनीहरु बाहिर गए।
तर, उनीहरु सबै मिलेर शल्यक्रिया कक्ष बाहिर धर्ना जस्तोगरी बसेका थिए। हामी शल्यक्रिया गरेर बाहिर निस्कँदासम्म त्यसैगरी बसिरहेका थिए उनीहरु।
त्यहाँबाट निस्किएपछि आफ्नो ओपिडीमा आएर बिरामीका फाइल पल्ट्याएर हेर्दै थिएँ। ओपिडिमा म लगायत दुई जना स्टाफ थियौं। उनीहरु जंगिदै मेरो कठालो समात्न खोज्दै थिए। उनीहरुलाई देख्नेबित्तिकै म उठेर पछि हटेँ। त्यसकारण अप्रिय घटना भने हुन पाएन।
उनीहरुलाई दुई जना स्टाफले समातेर बाहिर निकाल्नु भयो। हामीले असुरक्षित महसुस गर्दै उनीहरु विरुद्ध प्रहरीमा उजुरी गर्यौं। अस्पतालमा प्रहरी आउँदासम्म ती व्यक्तिहरु भागिसकेका थिए। उनीहरुले ल्याएको बिरामीको अवस्था अहिले सामान्य छ। प्रहरीले अहिले अस्पताललाई निगरानीमा राखेको छ।