काठमाडौं– राम्रो काम र दाममा क्यानाडा पठाउने नाममा मिर्गौला तस्करी गर्ने गिरोहका एक सदस्यलाई नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नुवाकोटको मेघाङ गाउँपालिका–५ का २६ वर्षीय योगेश सापकोटा छन्। उनले सिंहबहादुर (परिवर्तित) नाम भएका व्यक्तिलाई क्यानडा पठाउने भन्दै नयाँ दिल्ली पुर्याएर २५ लाखभन्दा बढी रकम लुटपाट गरेका थिए।
क्यानाडाको रोजगारी, निःशुल्क इलोक्ट्रोनिक ट्राभल अथोराइजेसन (इटिए) हुने भन्दै आश्वासन देखाएर गत फेब्रुअरी ५ मा सापकोटाले सिंहबहादुरलाई नयाँ दिल्ली पुर्याएका थिए।
नयाँ दिल्ली पुर्याएपछि एक होटलमा बन्धक बनाई उनलाई अभियुक्तहरुले क्यानाडा जान २२ हजार अमेरिकी डलर चाहिने र उक्त रकम सो गरेपछि मात्रै इलोक्ट्रोनिक ट्राभल अथोराइजेसन पाउने भन्दै तुरुन्त रकम झिकाउन भनेका थिए।
सोहीअनुसार पीडित सिंहबहादुरले बुवा र मामालाई रकम पठाउन भनेका थिए। उनीहरु फेब्रुअरी १२ मा २२ हजार ५९ अमेरिकी डलर लिएर नयाँ दिल्ली पुगे। नयाँ दिल्ली पुगेपछि सापकोटाले समूहले बुबा र मामालाई गुडगाउँस्थित एक होटलमा आउन भनेका थिए भने पीडित सिंहबहादुरलाई भने क्यानडातर्फको उडानका लागि भन्दै इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा पुर्याएका थिए।
उक्त होटलमा सिंहबहादुरका बुबा र मामा दुवैलाई बेहोस बनाएर उनीहरुको मिर्गौला झिक्ने योजना तस्कहरुले बनाएका प्रहरी अनुसन्धानबाट खुलेको छ।
विमानस्थलमा पुर्याएपछि सापकोटाको समूह त्यहाँबाट बेपत्ता भएका थिए। विमानस्थलमा अलपत्र भएपछि पीडित सिंहबहादुर बुवा र मामा खोज्दै उक्त होटलमा पुगेका थिए। त्यहाँ पुग्दा सिंहबहादुरले बुवा र मामा दुवैलाई बेहोस अवस्थामा भेटका थिए।
सिंहबहादुरले दुवै जनालाई अस्पताल लगेर उपचार गरेपछि उनीहरुको मिर्गौला झिक्ने तस्करहरुको योजना सफल हुन पाएन। बेहोस भएकै बेला अभियक्तुहरुले उनीहरुको साथमा भएको सम्पूर्ण रकम लुटिसकेका थिए।
आफूहरु पीडित भएको भनि उजुरी दिएपछि प्रहरीले सापकोटालाई जेठ २९ गते काभ्रेबाट पक्राउ गरेको हो। उक्त अपराधमा संलग्न अन्य व्यक्ति भने अझै फरार छन्। पक्राउ परेका अभियुक्तले पटक-पटक गरी २२ हजार ५९ अमेरिकी डलर (शुक्रबारको विनिमय दरअनुसार करिब २४ लाख ६० हजार), १५ हजार भारतीय रुपैयाँ र ३५ हजार नेपाली रुपैयाँ गरी करिब २५ लाख २० हजार लुटेका थिए।
पक्राउ परेका सापकोटामाथि 'मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४' अनुसार अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।