नेपालगन्ज- अवैध रुपमा सञ्चालन गरेको भन्दै नेपालगन्जको एक आयुर्वेद औषधि पसललाई ‘शिलबन्दी’ गरिएको छ।
शुक्रबार गरिएको अनुगमनका क्रममा नेपालगन्ज–१० सुर्खेतरोडमा रहेको अष्टाङ आयुर्वेद पसललाई शिलबन्दी गरिएको हो। दर्ता नगरेर सञ्चालनमा रहेको सो औषधि पसलले प्रतिबन्धित औषधि बिक्री गरेको र भ्रमात्मक प्रचारप्रसार गरेको पर्चा टोलीले फेला पारेको औषधि व्यवस्था कार्यालय, नेपालगन्जका सुपरभाइजर यादवप्रसाद ढकालले बताए।
यसैगरी अनुगमन टोलीले नेपालगन्जको चितवन एग्रोभेट, हरिओम मेडिकल, उपकार मेडिकल हल र कुलाइसा मेडिकल हलको पनि अनुगमन गरेको थियो। सो एग्रोभेटले दर्ता नभएको औषधि बिक्री गरेको, म्याद नाघेको औषधि पसलमा राखेको, भेटेनरी औषधि पसल भए पनि कृषिको बीउबिजन, तथा कीटनाशक जस्ता विषादी राखेको पाइएकाले विभाागीय कारबाहीका लागि औषधि व्यवस्था कार्यालयमा बोलाइएको सुपरभाइजर ढकालले बताए।रासस