काठमाडौं- जेठ १२ गते काठमाडौंको सुकेधारा र घट्टेकुलोमा भएको विस्फोटमा ४ जनाको ज्यान गयो। घटनाका घाइतेहरु अहिले उपचार गराइरहेका छन्।
उक्त विस्फोट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गराएको पुष्टि पनि भयो। उक्त पार्टीले भने घाइते भएकालाई पार्टीकै खर्चमा उपचार गरिरहेको जनाएको छ।
सुकेधारामा घाइते भई ओम अस्पतालमा उपचार गराईरहेकालाई पार्टीले सहयोग नगरेको भन्दै परिवारबाट असन्तुष्टि आएपछि पार्टीकै खर्चमा उपचार भइरहेको दाबी गरिएको छ।
अचेत अवस्थामा रहेका रामेछाप मन्थली ४ का रामकुमार श्रेष्ठको परिवारले पार्टीबाट उपचारका लागि सहयोग नभएको गुनासो गरेका थिए। विप्लव नजिकका एक नेताले भने, ‘३२ लाखभन्दा बढी खर्च भइसक्यो। पार्टीले सहयोग नगरेको भन्नु सत्य होइन।’
श्रेष्ठका परिवारले पार्टीका नेता कार्यकर्ता सम्पर्कमै नआएको सञ्चारमाध्यमलाई बताएका थिए। ओम अस्पतालको आइसियुमा उपचाररत श्रेष्ठलाई अक्सिजन दिएर राखिएको छ। प्रहरीको निगरानीमा घाइतेहरुको उपचार भइरहेको छ। प्रहरीको प्रत्यक्ष निगरानी रहेकाले पार्टीले चाहे अनुरुप रेखदेख गर्न भने नसकेको ती नेताले बताए।
श्रेष्ठसँगै उक्त अस्पतालमा हरि खड्का र सुरेन्द्र महर्जनको उपचार भइरहेको छ। सुकेधाराको विस्फोटमा घाइते भएका सैलुन सञ्चालक छोटे भनिने जीवकुमार ठाकुरको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
जेठ १२ मा उपत्यकाका सुकेधारा र घट्टेकुलोमा भएको विस्फोटमा ४ जनाको ज्यान गएको थियो। जेठ १३ मा घोषित बन्दलाई प्रभावकारी बनाउन गरिएको विस्फोटमा सोही पार्टीका कार्यकर्ता कालीकोटका दीपक विक, दाङका गोकुल रानामगर, निरन्तर मल्ल र सिटिइभिटीमा अध्ययनरत प्रज्वल शाहीको मृत्यु भएको थियो। (तस्बिर : सुकेधारा विस्फोटको दृश्य)