डडेल्धुरा- डडेल्धुरा अस्पतालमा सुत्केरीको मृत्यु भएपछि डडेल्धुरा सदरमुकाममा उत्पन्न भएको तनाव साम्य भएको छ।
अप्रेसन गरी शिशु जन्माएकी अमरगढी नगरपालिका–६ छचोडा गाउँका धर्मराज ताम्राकारकी श्रीमती २६ वर्षीया गीता ताम्राकारको शुक्रबार दिउँसो डडेल्धुरा अस्पतालमा मृत्यु भएको थियो। अस्पतालका चिकित्सकले लापरबाही गरेको आरोप लगाउँदै मृतकका आफन्तले अस्पताल र जिल्ला प्रशासन कार्यालय प्रदर्शन गर्दै सडक अवरुद्ध पारेका थिए।
मृतकका आफन्तसँग तीन बुँदे सहमति भएपछि शनिबार दिउँसोबाट जिल्ला सदरमुकाम खलंगामा भएको प्रदर्शन रोकिएको छ।
प्रर्दशन रोकिएसँगै सडकमा रोकिएका सवारीका साधन गन्तव्यतर्फ हिँडेका छन्।
तीन बुँदे निर्णयमा सहमति जनाई घटनाबारे आवश्यक सहयोग गर्न प्रशासन कार्यालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र पठाएपछि उग्र बनेको प्रदर्शन शान्त भएको हो।
गृह मन्त्रालय, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिम प्रदेश, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशलाई बोधार्थ गरी पत्र पठाएपछि प्रदर्शन रोकिएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए।
प्रशासन कार्यालय र मृतकका आफन्तबीच घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन टोली पठाइदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयलाई अनुरोध गर्नेसहितका सहमति भएको हो।
यसैगरी, मृतक गीताको पोष्टमार्टम जिल्ला बाहिरका चिकित्सकबाट गर्ने गरी चिकित्सक पठाइदिन स्वास्थ्य जनसंख्या मन्त्रालय र सुदूरपश्चिम सामाजिक मन्त्रालयलाई अनुरोध गर्ने र मृतकका आफन्तलाई नियमनुसार राहत उपलब्ध गराउन जनसंख्या मन्त्रालय र सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयलाई अनुरोध गर्ने निर्णयमा सहमति भएको हो।
शनिबार महिलाहरुले जिल्ला प्रशासन कार्यालय अगाडि घेराउ गर्दै नाराबाजी गर्दै प्रदर्शन समेत गरेका थिए।
'उपचारका नाममा ज्यान लिन पाइँदैन, हत्यारालाई कारबाही गर' लगायतका नारा लगाउँदै प्रशासन घेराउ गरेका थिए। आफन्त र गाउँलेले सदरमुकाम तुफानडाँडा चोकमा टायर बाली सडक समेत अवरुद्ध पारेका थिए। बिहान १० बजेदेखि मृतकका आफन्तले दिउँसोसम्म सडक अवरुद्ध पारेका थिए।
सुत्केरी भएकी गीताको रक्तश्राव नरोकिएपछि गीतालाई शुक्रबार परिवारले डडेल्धुरा अस्पताल भर्ना गरेका थिए। तर उपचारका क्रममा उनको मृत्यु भयो।
आफन्तको दाबी गलत : अस्पताल
अस्पतालले भने आफन्तको दाबी गलत भएको बताएको छ।
गीतालाई १० पिन्ट रगत दिएर रेफर गरिसकेको अवस्थामा उनको ज्यान गएकाले अस्पतालको लापरवाही भन्नु उचित नभएको अस्पताल प्रशासनको दाबी छ। मृतक गीताका श्रीमान् स्वास्थ्यकर्मी हुन्। उनी नेपाल सरकारको हेल्थ असिस्टेन्ट पदमा अछाममा कार्यरत छन्।
बिहीबार छोरा भएको १५ दिन पुगेपछि रगत बग्न थालेकाले गीतालाई अस्पताल पुगेका थिए। उनले जेठ १६ गते दिउँसो साढे दुई बजे अप्रेसन गरी बच्चा पाएकी थिइन्। बच्चा सकुशल जन्मिएपछि स्वास्थ्यमा प्रतिकूल असर रहेकाले २४ गतेसम्म पाँच दिन बच्चालाई आइसियुमा राखिएको थियो।
उनलाई २४ गते अस्पतालबाट घर पठाइएको सहमति पत्रमा उल्लेख छ। उनी ३० गते फेरी अस्ताल पुगी रगत बगेको बताएकी थिइन्। करिब १ महिनासम्म रगत बग्ने भन्दै अस्पतालका चिकित्सकले चिन्ता नलिन आग्रह गर्दै उनलाई घर पठाएका थिए।
घर पुगेपछि रक्तश्राव नरोकिएपछि उनी फेरि ३१ गते बिहान साढे ८ बजे अस्पताल पुगेकी थिइन्।
दिउँसो उनको अवस्था चिन्ताजनक रहेको बताउँदै मेसुले रिफर गर्नुपर्ने भन्दै हेलिकोप्टरबाट काठमाडौं लैजान सल्लाह दिँदै खर्चको जोहो गर्न आफन्तलाई भनेका थिए। तर, साँझ साढे पाँच बजे गीताको मृत्यु भएकाले आवश्यक छानबिन गरिनु पर्ने सहमति पत्रमा लेखिएको छ।
आक्रोसित आफन्तले शुक्रबार साँझ अस्पताल परिसरमा ढुंगामुढासमेत गरेका थिए। पीडित पक्ष आक्रोसमा आएपछि शुक्रबार बेलुकी केहीबेर प्रहरीसँग झडपसमेत भएको थियो। ढुंगामुढाबाट अस्पतालमा आंशिक क्षति भएको अस्पतालले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले घटनाबारे छानबिन गरेर दोषीमाथि कारबाही गर्ने सहमति दुई पक्षबीच बनेको बताए। जिल्ला समन्वय समिति प्रमुख गणेशराज भट्ट, अमरगढी नगरप्रमुख, उपप्रमुख, मृतकका आफन्तसँग शुक्रबार रातीको छलफलपछि शनिबार तीन बुँदे सहमति भएको थियो। प्रजिअ भट्टले भेन, ‘अहिले सोही सहमति अनुसार प्रदर्शन रोकिएको छ।’
पीडित पक्षको मागकै आधारमा बैतडीबाट डाक्टर ल्याएर शवको पोष्टमाटम भएको र आईतबार मात्र शव उठाउने मनसाय बनाएको वडा अध्यक्ष गोबिन्द बोहराले बताए।
हामी असुरक्षित छौं : चिकित्सक
डडेल्धुरा अस्पताल डडेल्धुराका चिकित्सकहरुले आफूले असुरक्षित महसुस गरिरहेको बताएका छन्। शुक्रबार करिब ८ घण्टा अस्पतालको ल्याबमै थुनिएका मेसु डा.जितेन्द्र कँडेलको टिम अहिले पनि कति बेला के हुन्छ भने त्रासमा रहेको बताइएको छ।
मध्यराती तिन घण्टा डाक्टरहरुको टोली अस्पताल छेउमा रहेको जङ्गलमा लुकेर बसेको मेसु डा. कँडेलले बताए। उनले भने, 'पेट्रोलसहितको समूह आउदै छ भन्ने खबर आयो। अनि घर जलाउछ कि भनेर नजिकैको जङ्गलमा लुकेर बस्यौं। ३ घण्टापछि प्रहरीले निवासमा ल्यायो।'
स्वास्थ्यखबरसंग कुराकानी गर्दै मेसु डा. कँडेलले यस्तै अवस्था रहे आफूहरुले काम गर्न नस्कने बताए। 'ज्यानको सुरक्षा छैन,' उनले भने, 'कोही सडकमा पुत्ला जलाउछन्, कोही जलाइदिन्छु भन्छन्। अब डडेल्धुरा कसरी बस्ने? कसरी काम गर्ने?'