काठमाडौं– निकै विवादित बनेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय माताहतका कर्मचारी समायोजनको काम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले टुंग्याएको छ। मन्त्रालयले स्वास्थ्यका सबै गुनासालाई एकएक गरी केलाउँदै समायोजनको अन्तिम सूचीको टुंगो लगाएको हो।
सामान्यले तयार पारेको अन्तिम सूची आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाइएको छ। स्वास्थ्य मन्त्रालयले उक्त सूची अनुसार कर्मचारीलाई समायोजनको पत्र बुझाउने भएको छ।
स्वास्थ्य मन्त्रालयले सामान्यले टुंगो लागेर पठाएको सूची विगतमा जस्तो वेबसाइटमा सार्वजनिक नगर्ने भएको छ। मन्त्रालयले कर्मचारीलाई पत्र पठाउने तयारी गरेको छ। समायोजनमा परेका कर्मचारीलाई हाल कार्यरत रहेको स्थानमा नै पत्र पठाउने तयारी भएको मन्त्रालयका एक कर्मचारीले जानकारी दिए।
स्वास्थ्यमा २७ हजार ३ सय ३ जनाको समायोजन सूची सार्वजनिक भएको थियो। तर, उक्त सूचीमा त्रुटि भएको भन्दै १३ हजारभन्दा बढी कर्मचारीले गुनासो दर्ता गरेका थिए।
सरकारले कर्मचारीलाई वैशाख ५ गतेसम्म गुनासो दर्ता गर्न समय दिएको थियो। उक्त अवधिमा गुनासो दर्ता गराएका कर्मचारीको एक एक विवरण केलाउँदै सामान्यले ७ हजार ७ सय ४० गुनासालाई जायज ठहर गरेको थियो।
सोही आधारमा मन्त्रालयले सामायोजनको अन्तिम टुंगो लगाएको सामान्यका एक कर्मचारीले स्वास्थ्यखबरलाई जानकारी दिए।