डडेल्धुरा– गत जेठ १७ गते अमरगढी नगरपालिका–६ छचोडा गाउँकी गीता ताम्राकारलाई बच्चा जन्माउन नसकेपछि घरबाट ७ किलोमिटर दूरीमा रहेको डडेल्धुरा अस्पताल ल्याइयो ।
सामान्य अवस्थामा बच्चा जन्मिन नसक्ने अवस्था देखिएपछि सेफालोपेल्भिक डिस्प्रोपोर्सन (शिशुको टाउको र आमाको पेल्भिसको अनुपात नमिलेको) भएको यकिन गरेपछि डडेल्धुरा अस्पतालका स्त्री तथा प्रसूति रोग चिकित्सक डा नवराज जैसीले त्यही दिन १७ गते उनको शल्यक्रिया गरेर सुत्केरी गराए। पाँच दिन अस्पताल राखेर २४ गते उनलाई डिस्चार्ज गरियो। उनी १४ दिन घरै बसिन्।
त्यसपछि फलोअपका लागि बिहीबार अर्थात् गत जेठ ३० गते उनी डडेल्धुरा अस्पताल आइन्। फलोअपमा आउँदा योनीबाट अलिअलि रक्तश्राव भएको उनले चिकित्सकलाई बताएकी थिइन्। चिकित्सकले त्यसपछि उनको भिडियो एक्सरे गरे। शल्यक्रिया गरिएको ठाउँ सामान्य भइसकेको थिएन।
घाउ नसुकेकाले भिडियो एक्सरे गर्दा पनि सामान्य रगत मात्रै देखियो। ‘भिडियो एक्सरेमा थोरै मात्र रगत देखिएको थियो, अप्रेसन गरेको थोरै समय भएकाले अवस्था सामान्य भइसकेको थिएन,’ डा जितेन्द्र कँडेलले भने।
भिडियो एक्सरेपछि गीता घर फर्किइन्। घर गइसकेपछि फेरि दिउँसो २ बजेतिर गीताको योनीबाट रगत बग्यो र पुनः रोकियो। रोकिएपछि आफन्तले उनलाई अस्पताल ल्याएनन्। फेरि मध्यराति १ बजेदेखि बिहानसम्म लगातार योनीबाट रगत बग्यो र पुनः रोकियो।
३१ गते शुक्रबार बिहान ९ बजे मात्र उनलाई अस्पताल ल्याइयो। अस्पताल ल्याउँदा गीताको अत्यधिक रक्तश्राव भएको थियो।
अस्पताल ल्याइपु¥याउँदासम्म उनको स्वास्थ्य अवस्था जटिल भइसकेको उपचारमा संलग्न डडेल्धुरा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा जितेन्द्र कँडेलले बताए।
‘बिहान ९ बजे आउँदा उहाँको योनीबाट रक्तश्राव भइरहेको थियो, रक्तचाप नाप्न सकिने अवस्था थिएन,’ उनले भने,’ बिरामी जटिल अवस्थामा रहेकाले १० बजेबाट उपचार सुरु ग¥यौं। स्लाइन दियौं, भित्र र बाहिरबाट रगत मगाएर १० पिन्ट रगत दियौं। तर, रक्तश्राव नरोकिएपछि रोक्न सकिने थप प्रक्रियाहरुको प्रयास थाल्यौं।’
चिकित्सकहरुले बिरामीका आफन्त स्वाथ्यकर्मी धर्म ताम्राकारलाई बेलाबेलामा बिरामीको अवस्थाबारे जानकारी गराइराखे। उनले भने, ‘त्यसपछि पनि आफूहरुले सबै संयन्त्र प्रयोग गरेर बिरामीलाई बचाउने प्रयास ग¥यौं।’
डाक्टरहरुले जति गर्दा पनि बिरामीको अवस्था सामान्य हुन नसकेपछि एयर लिफ्टिङ गर्ने प्रयासहरु समेत भएको र सडक बाटो भएर बिरामीलाई धनगढी पु¥याउन सकिने अवस्था नरहेको डा कँडेलले बिरामीका आफन्तलाई जानकारी गराएको बताए।
‘यस्तो अवस्थामा धनगढी रिफर गर्न सकिँदैनथ्यो,’ उनले भने, ‘हेलिकोप्टरमार्फत एयर लिफ्ट गर्ने कुरा भयो। तर त्यो सम्भव भएन। सबैमा म आफैंले प्रयास गरेको छु।’ त्यसका लागि धनगढीस्थित प्रदेशको सामाजिक विकास मन्त्रालयसँग पनि समन्वय गरिएको उनको दाबी छ।
‘बिरामीका आफन्तलाई तपाइँहरु आफ्नो पक्षबाट हेलिकोप्टरको लागि कुरा नगर्नु भनेका थिएनौं,’ उनले भने, मैले गरेको प्रयासमा मन्त्रालयले हेलिकोप्टर पठाउन नसक्ने बतायो। त्यसपछि डाक्टरको टोलीले रक्तश्राव रोक्न पुनः पाठेघरको शल्यक्रियाको प्रयासमा जुट्यो। अन्तिम विकल्पका रुपमा त्यही मात्र रहेपछि बिरामी गीताका श्रीमान् धर्मराज ताम्राकारले पुनः शल्यक्रिया गर्ने सहमति दिएका थिए। तलमाथि परेमा आफैं जिम्मेवार हुने भन्दै डेथ अन टेबल भनिने मन्जुरीनामामा पनि हस्ताक्षर गरे।’
शल्यक्रियाकै क्रममा रगत जम्ने प्रक्रिया सुरु भएको र साँझ ५ः १५ मा उनको मुटुको चाल रोकिएको डा कँडेलले बताए। बिरामी बचाउन सबै प्रयास असफल भएपछि अस्पतालले गीतालाई बचाउन नसकेको जानकारी बिरामीका आफन्तलाई गराएको र त्यसलगतै आफन्तहरु तोडफोड र प्रदर्शनमा उत्रिएको उनको भनाइ छ।
डक्टरलाई नै हातपात गर्न थालेपछि करिब ८ घन्टा अस्पतालको ल्याब कक्षमा थुनिएको उनले जानकारी दिए। डा कँडेलका अनुसार अवस्था अलि शान्त भएपछि डा कँडेलको टिम प्रहरीको सुरक्षा घेरामा आफ्नो निवासतिर लाग्यो। तर आन्दोलनकारीले निवास नजिकै आएर डा कँडेल मुर्दावाद, डाक्टरलाई फासी दे भन्दै नारा बाजी गरिरहे।
डाक्टर निवास वरिपरि सुरक्षाकर्मी पनि थिएनन्। त्रासमा रहेका डाक्टरहरुको घरबाट बेलाबेलामा फोन भने आइरहेका थिए। ‘प्रदर्शनकारीलाई अस्पतालको परिसरबाट बाहिर निकाल्न जिल्ला प्रहरीको आदेश आयो’, डा कँडेलले भने, ‘प्रहरीले प्रदर्शनकारीलाई बाहिर त पठायो तर रक्सीको मातमा रहेका युवाहरुले डा निवासमै कानेखुसी गरेको हामीले सुन्यौं– पेट्रोल कम भयो, यो घर नष्ट हुँदैन होला।’
त्यसपछि मध्यराति तीन घन्टा डाक्टरहरुको टोली अस्पताल छेउमा रहेको जंगलमा लुकेर बसेको मेसु डा कँडेलले बताए। उनले भने, ‘पेट्रोलसहितको समूह निवास पछाडि छ भन्ने थाहा पायौँ। अनि घर जलाउँछन् भन्ने डरले नजिकैको जंगलमा लुकेर बस्यौं। तीन घन्टा जंगल बसेपछि प्रहरीले हामीलाई निवासमा ल्यायो।’
स्वास्थ्यखबरसँग कुरा गर्दै गर्दै मेसु डा कँडेलले यस्तै अवस्था रहे आफूहरुले काम गर्न नस्कने बताए। ‘ज्यानको सुरक्षा छैन,’ उनले भने, ‘कोही सडकमा पुत्ला जलाउँछन्, कोही घर जलाइदिन्छु भन्छन्। अब डडेल्धुरा कसरी बस्ने? कसरी काम गर्ने?’
शव पोस्टमार्टमपछि दहासंस्कर भयो
जिल्ला अस्पताल बैतडीबाट आएका डाक्टरले शवको पोस्टमार्टम गरेपछि आइतबार बिहान शवको दाहसंस्कार गरेका छन्। घटनाको छानविन र पीडितलाई राहतको लागि संघ सरकार र सुदूरपश्चिम सरकारसँग लिखित आग्रह गर्ने सहमति अस्पताल प्रशासनसँग भएपछि शव बुझेर दहासंस्कर गरेको अमरगढी नगरपालिका– ६ का वडा अध्यक्ष गोविन्द बोहराले बताए। अहिले अवस्था समान्य छ।