काठमाडौं– डडेलधुरा अस्पतालमा उत्पन्न विवादपछि त्यहाँ कार्यरत चिकित्सकलाई केन्द्रमा हाजिर हुन सरकारी चिकित्सक संघले आग्रह गरेको छ। सुरक्षाको ग्यारेन्टी नभएको भन्दै सत्प्रतिशत ग्यारेन्टी नभएसम्म र दोषीलाई हिरासतमा लिएर अनुसन्धान नगरिएसम्म केन्द्रमै हाजिर हुन संघले विज्ञप्तिमार्फत सुझाएको हो।
अस्पतालमा कार्यरत चिकित्सकहरुको सुरक्षा लागि उक्त विकल्पक सुझाइएको बताइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हाजिर हुन अग्रह गर्दै यसबाट सिर्जित सम्पूर्ण परिस्थितिको जिम्मेवारी स्थानीय निकाय, प्रशासन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बताइएको छ।
घटनापछि उत्पन्न परिस्थिति र त्यसउपर स्थानीय निकाय र प्रशासनको रवैयाले सरकारी चिकित्सक संघ आश्चर्यचकित रहेको पनि विज्ञप्तिमा भनिएको छ। भनिएको छ, 'चरम मानसिक तनाव र असुरक्षाका बीच चिकित्सक तथा स्वास्थ्यकर्मीहरु रहनु परेको र यस्तो अवस्थामा स्वास्थ्य सेवा प्रवाह गरिरहन असम्भव छ।'
चिकित्सक तथा स्वास्थ्यकर्मी उपर दुर्व्यवहार तथा हातपात गर्ने र अराजकता मच्चाउने लाई कारबाही गर्नुको सट्टा अस्पताल सञ्चालन गर्न दबाब दिनु स्थानीय प्रशासनको चरम निकम्मापन रहेको संघको ठहर छ।
डडेलधुरा जस्तो विकट ठाउँमा समेत उपचार सेवा संलग्न चिकित्सकहरुको उच्च मूल्यांकन हुनुपर्ने ठाँउमा चरम मानसिक यातना दिइनु दुर्भाग्यपूर्ण रहेको बताइएको छ। यसको असर कालान्तर सम्म त्यहाँका स्थानीयले भोग्नुपर्ने भएकाले त्यहाँ कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाको जिम्मेवारी स्थानीय सरकारको रहेको कुरामा समेत ध्यानाकर्षण गराइएको छ।