डडेलधुरा– सुत्केरीको मृत्युपछि डडेलधुरा अस्पतालमा उत्पन्न तनाव मत्थर भएको छ। असुरक्षा भएको भन्दै सामूहिक राजिनामा दिने हदसम्म पुगेका चिकित्सकहरु सरोकारवालाको आश्वासनपछि काममा फर्किएका छन्।
केही दिनदेखि अवरुद्ध ओपिडि सेवा सोमबारदेखि सुरु गरिएको अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट डा जितेन्द्र कँडेलले बताए । उनका अनुसार चिकित्सकमा त्रास कायमै रहेका कारण बाहिर गोलघरमा सामूहिक ओपिडि सेवा दिन थालिएको छ।
अस्पतालमा उत्पन्न समस्यापछि स्वास्थ्य मन्त्रालयको छानविन टोली पनि त्यहाँ पुगेको छ भने स्थानीय प्रशासनले सुरक्षाको जिम्मेवारी लिएको छ । डा कँडेलले भने, ‘प्रशासनले सुरक्षा जिम्मा लिएपछि हामीले सेवा सुरु गरेका छौं। तर, चिकित्सकहरुमा त्रास रहेका कारण छुट्टाछुट्टै कोठाबाट उपचार सेवा दिन सकेनौं।’
अमरगढी नगरपालिका–६ धर्मराज ताम्राकारकी श्रीमती २६ वर्षीया गीता ताम्राकारको सुत्केरी भएको १४ दिनमा रक्तश्राव नरोकिएपछि डडेल्धुरा अस्पताल ल्याइएको थियो।उपचारका क्रममा उनको मृत्यु भएको थियो । उनको मृत्युपछि आफन्त आन्दोलनमा उत्रिएका थिए।
चिकित्सकले उपचारमा लापरबाही गर्दा सुत्केरीको मृत्यु भएको आरोप लगाउँदै पीडित पक्षले अस्पताल तोडफोडसमेत गरेका थिए।