काठमाडौं - संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्यका कर्मचारीको समायोजन टुंग्याएर सूची पठाए पनि स्वास्थ्यले तत्कालै पत्र नपठाउने भएको छ।
समायोजनको सूचीमध्ये केहीमा पुनः समस्या देखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ती समस्या समाधान गरेपछि मात्र कर्मचारीलाई पत्र पठाउने तयारी गरेको छ। सामान्यबाट आइतबार सूची आएपछि स्वास्थ्यले आज सोमबारबाट पत्र पठाउने योजना बनाएको थियो। तर, सूचीमा केही समस्या देखिएपछि पत्र दिने काममा ढिलाइ हुने भएको हो।
मन्त्रालयका सहसचिव जनार्दन गुरागाईंका अनुसार कर्मचारीलाई हाल कार्यरत रहेको स्थानमा नै समायोजनको पत्र पठाइने छ। ‘सामान्यबाट आएको सूचीलाई हामीले केलाइरहेका छौं,’ उनले भने, ‘उक्त सूची अनुसार सानो समूहबाट क्रमश पत्र वितरण गर्दै जाने छौं।’
उनले आर्थिक वर्षको अन्त्य र वर्षातको समय भएका कारण स्वास्थ्य संस्थामा कर्मचारीको उपलब्धता लगायतका विषयलाई मध्यनजर गर्दै पत्र सम्बिन्धत कर्मचारीलाई कार्यरत संस्थामा नै पठाइने जानकारी दिए।
स्वास्थ्यमा २७ हजार ३ सय ३ जनाको समायोजन सूची सार्वजनिक भएको थियो। तर, उक्त सूचीमा त्रुटि भएको भन्दै १३ हजारभन्दा बढी कर्मचारीले गुनासो दर्ता गरेका थिए। सरकारले कर्मचारीलाई वैशाख ५ गतेसम्म गुनासो दर्ता गर्न समय दिएको थियो। उक्त अवधिमा गुनासो दर्ता गराएका कर्मचारीको एक एक विवरण केलाउँदै सामान्यले ७ हजार ७ सय ४० गुनासालाई जायज ठहर गरेको थियो।