जनकपुर- जनकपुरमा मापदण्डविपरीत सञ्चालन गरिएका ४ औषधि पसलमा बुधबार शिलबन्दी गरिएको छ।
औषधि व्यवस्था विभाग शाखा कार्यालय वीरगञ्जले अनुगमन गर्दा जनकपुर अञ्चल अस्पताल रोडमा सञ्चालन भइरहेका अधिकांश औषधि पसलहरु मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएको थियो।
समितिले अनुगमन गरी मापदण्डविपरीत सञ्चालनमा रहेका ४ औषधि पसलमा शिलबन्दी समेत गरेका हुन्। समितिले अनुगमन गर्न आएको थाहा पाई अधिकांश पसलका सञ्चालकहरु पसल बन्द गरी भागेका थिए।
अनुगमनको क्रममा प्रदेश २ को राजधानी जनकपुरका अधिकांश औषधि पसलहरु मापदण्डविपरीत अवैधरुपमा सञ्चालनमा रहेको पाइएको बताइएको छ।
अनुगमनका क्रममा कतिपय औषधि पसलहरुमा म्याद सकिएका औषधिसमेत बिक्रि गरेको, औषधिमा ब्याच नम्बर र एक्सपायर मिति नखुलाई बिक्री गरेको, नियमित सेवाग्रहीलाई बिल नदिएको र फार्मसिस्ट बिना पसल सञ्चालन गरेको भेटिएको हो।
अनुगमन समितिका नेतृत्वकर्ता डा चन्देश्वर यादवले समितिले बुधबार ११ वटा औषधि पसलमा अनुगमन बताउँदै अनुगमन गरिएको प्रायःजसो पसलमा केही न केही कमीकमजोरी रहेको बताए।
'अधिकांश औषधि पसलहरु मापदण्डविपरीत सञ्चालन, म्याद गुज्रेको औषधिसमेत बिक्री गरेको, बिना लाइसेन्स सञ्चालन र बिना फार्मसिस्ट पसल सञ्चालन गरेको पाइयो,' यादवले भने।
यादवले अनुगमनका क्रममा व्यवसायी जानी-जानी भागेको हामीले देखेपछि ती पसलमा समेत शिलबन्दी गरिएको बताए। शिलबन्दी गरेका पसलहरुलाई कानुनअनुसार कारबाही गर्ने भन्दै पुनः जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, औषधि व्यवसायी संघ र विभागका संयुक्त टोली मिलेर छिट्टै अनुगमन गर्ने उनको भनाइ छ।
‘आवश्यक जनशक्तिको अभावमा सबै पसलहरुमा अनुगमन गर्न सकेनौं,’ उनले भने, ‘पुनः सबै सरोकारबाला निकायसँग सहकार्य गरी अनुगमन गर्नुपर्ने आवश्यकता छ।’
समितिले मापदण्डविपरीत सञ्चालन गरेको भनि शिलबन्दी गरेका फर्मेसीहरुमा जनकपुरधाम उपमहानगरपालिका–६, अस्पताल रोडमा सञ्चालनमा रहेका आरुषी मेडिकल हल, आमना क्लिनिक परिसरको नाम नखुलेको फार्मेसी, अभाष मेडिकल हल र महेन्द्र मेडिकल स्टोर छन्।
आमना क्लिनिक दर्ता नभएपछि भित्र सेवाग्राही भए पनि सञ्चालकले बाहिरबाट ताल्चा लगाएका थिए। अनुगमन समितिलाई अटेर गरी ३० मिनेट उनीहरुले ढोका खोलेनन्। पछि सुरक्षाकर्मीले खोल्न लगाएपछि बीना दर्ता सञ्चालन रहेको पाइयो। सञ्चालकले भने दर्ता प्रकृयामा रहेको दाबी गरे।
अन्य ७ पसलमा देखिएको कमिकमजोरी २ दिनभित्र सुधार गरी सञ्चालकलाई कागजात लिएर कार्यालयमा उपस्थित हुन अनुगमन टोलीले निर्देशन दिएको छ।
अनुगमनका क्रममा अधिकांश पसलमा आधिकारिक व्यक्ति नभई अन्य व्यक्तिले औषधि बिक्री गरेको फेला परेको थियो। पसल तथा व्यवसायिक प्रतिष्ठान घरेलु तथा साना विभागअन्तर्गत नै रहेको वाणिज्य शाखामा दर्ता गराउनुपर्ने व्यवस्था पनि जनकपुरका औषधि पसलहरुले पालना गरेका छैनन्।
पोलीक्लिनिक, प्याथोलोजी ल्याब, औषधि पसल र निजी क्लिनिक समेतले मापदण्डविपरीत सञ्चालन गरी अधिकांशले राजश्व छलि गरिरहेको गुनासोका आधारमा अनुगमन गरिएको हो। लामो समयदेखि जनकपुरमा अनुगमन नहुँदा यस क्षेत्रका क्लिनिक सञ्चालकहरुले मनपरीतन्त्र मौलाएको स्थानीयहरुको आरोप छ।
‘अनुगमन समिति आएपछि ताल्चा लगाएर भाग्ने यो जनकपुरका व्यवसायीहरुको स्कुलिङ हो। केही समय बन्द गर्ने, फेरि भोलिपल्ट खोल्ने,’ स्थानीय राम रिझन यादवले भने, ‘कारबाही भएपो उनीहरु मापदण्ड पूरा गर्छन्। अनुगमन समिति पनि आर्थिक प्रलोभनमा परेर पुनः शिल खोली दिन्छ।’
जनकपुरमा प्रत्येक वर्ष अनुगमन हुन्छ, तर कुनै पनि व्यवसायीहरुलाई उचित कारबाही नहुँदा व्यवसायीहरु उदण्ड बनेको स्थानीयहरु बताउँछन्।