काठमाडौं– महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ)मा पहिलो पटक कलेजो प्रत्यारोपण गरिएका व्यक्ति डिस्चार्ज भएका छन्। स्वास्थ्यमा सुधार आएपछि उनलाई शुक्रबार डिस्चार्ज गरिएको हो।
अस्पतालमा जेठ १७ गते शुक्रबार भारतबाट आएका चिकित्सकको सहयोगमा अस्पतालका कलेजो प्रत्यारोपण सर्जन डा रमेशसिंह भण्डारी नेतृत्वको टोलीले ५८ वर्षीय बिरामीको कलेजो प्रत्यारोपण गरेको थियो।
यो शल्यक्रियाका लागि भारतको एपोलो अस्पतालबाट डा निरभ गोयलको नेतृत्वमा टोली नेपाल आएको थियो। उनीहरुकै सहयोगमा टिचिङमा पहिलो शल्यक्रिया सफल भएको डा भण्डारीले जानकारी दिए। शल्यक्रियामा नेपालका तर्फबाट डा भण्डारीसहित डा पलेस्वाँ लाखे जोशी, डा सुमित प्रधान, डा विष्णु कँडेल, डा सुजन श्रेष्ठ र डा नरेन्द्र महर्जन थिए।
शल्यक्रियापछि बिरामीलाई भारतबाट आएको टोलीको सहकार्यमा आवश्यक उपचार प्रक्रिया अगाडि बढाइएको थियो।
उनलाई आइसियुका प्रमुख डा सुवास आचार्यको टोलीले उपचार गरेको थियो। उक्त टोलीमा डा प्रमेश सुन्दर श्रेष्ठ, डा हेमराज पनेरु, डा सौरभ प्रधान, डा अनिल श्रेष्ठ, डा अमित भट्टराई, डा पंकज जोशी, डा रविन हमाल, डा राहुल पाठक, डा शर्मा पौडेल, डा दिनेश चटौत र डा अजित थापा थिए। नर्सिङतर्फ किवता सिटौला, मिना पुन, बिमला श्रेष्ठसहित ८ जना नर्स खटिएका थिए।
स्वास्थ्यमा सुधार आएपछि उनलाई आइसियुबाट विशेष वार्डमा सारिएको थियो।
डा भण्डारीका अनुसार बिरामीलाई ३३ वर्षीय छोरीले कलेजो प्रदान गरेकी हुन्। अस्पतालले १६ घन्टाभन्दा लामो समय लगाएर उक्त प्रत्यारोपण सम्पन्न गरेको हो। डा भण्डारीका अनुसार बिहान ८ बजेबाट सुरु भएको शल्यक्रिया शनिबार बिहान साढे १२ बजे मात्र सकिएको थियो।
अस्पतालले ५ वर्षको प्रयासपछि प्रत्यारोपण सेवा सुरु गरेको हो।