राजविराज– सप्तरीको कञ्चनरुप नगरपालिकामा भेटिएका डेंगुका बिरामी धरानबाटै संक्रमित भएर आएको पत्ता लागेको छ। वडा नम्बर ६ का २७ वर्षीय रामकान्त चौधरीलाई डेंगुको संक्रमण भेटिएको थियो। उनी एक हप्ताअघि मात्रै धरनाबाट घर आएका थिए।
गत बुधबार शंकाष्पद अवस्थामा आएका चौधरीलाई प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनरुपको ल्याबमा चेकजाँच गर्दा डेंगुको संक्रमण देखिएको थियो। उनको मोरङको विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा उपचार भइरहेको छ।
धरानमा ग्रिल तथा फलामको काम गर्ने उनका भाइ देवकान्त चौधरीलाई पनि डेंगु रोग लागेको कञ्चनरुप नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख डम्बर गुप्ताले बताए। उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको उनको भनाइ छ।
डेंगको शंका गरिएका जमुवाकै अन्य ६ जना ज्वरोका बिरामीमा भने त्यस्तो अवस्था नभेटिएको स्वास्थ्य शाखाले जनाएको छ। बिहीबार स्वास्थ्यकर्मीको टोलीले गाउँमै गएर ६ जनाको चेकजाँच गरेको थियो। ‘हामीसँग उपलब्ध किट लिएर गाउँमै गयौं, ज्वरो लागेका सवैको परीक्षण गरियो,’ गुप्ताले भने, ‘तर, उनीहरुमा डेंगुको खतरा देखिएन।’
लार्भा नष्ट गर्न अभियान
स्वास्थ्य शाखाले डेंगु रोग फैलन नदिन बुधबार जमुवाटोलमा लार्भा नष्ट गर्ने अभियान चलाएको छ। करिब १ सय ५० घर वरिपरि सरसफाई, पानी जम्ने खाल्डाखुल्डी पुर्ने र पानी जमिरहने ठाउँमा मट्टितेल छर्कने लगायतका काम गरिएको स्वास्थ्य शाखा प्रमख गुप्ताले जानकारी दिए।

डेंगु रोक एडिज एजिप्टाई र एडिज अल्वोपिक्ट्स जातको पोथी लामखुट्टेको टोकाईबाट सर्ने भएकाले लामखुट्टेबाट जोगिनु नै यसको पहिलो उपाय भएको उनले बताए। ‘वातावरणीय सरसफाइमा विशेष ध्यान दिनु जरुरी भएकाले अभियान चलाएका हौ,’ उनले भने।
खुला ट्यांकी, कुलरभित्र जमेको पानी, गमलाको पानी, टुटेफुटेका सिसा वा भाडामा जम्मा भएको पानी तथा खाल्डाखुल्डीको पानीमा लामखुट्टेले फुल पार्ने भएकाले त्यस्ता ठाउँहरुमा पानी जम्न नदिनु र जमेको पानीलाई पुर्ने व्यवस्था गरिनुपर्ने उनको भनाइ छ।
जनचेतनाका लागि स्वयंसेविका परिचालन
कञ्चनरुप नगरपालिकाले डेंगु रोगको लक्षण र बच्ने उपायका विषयमा जानकारी दिन स्वयंसेविका परिचालन गरेको छ। ९० जना स्वयंसेविका जनचेतनाका लागि परिचालन गरिएको कार्यालयले जनाएको छ।
डेंगुको संक्रमण भएपछि एक्कासी उच्च ज्वरो आउने र ५ देखि ७ दिनसम्म रहने, टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसापेशीहरू दुख्ने, शरीरमा विमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेका दागहरू देखा पर्ने, बेहोस हुने आदि लक्षणहरू देखा पर्ने स्वास्थ्य शाखाले जनाएको छ।