डोटी- जोरायल गाउँपालिकालाई साढे पाँच महीना अगाडि उपलब्ध गराइएको एम्बुलेन्स अहिलेसम्म पनि थन्केरै बसेको छ। एम्बुलेन्समा नेपाली काङ्ग्रेसका नेताको नाम उल्लेख गरिएको भन्दै उक्त गाउँपालिकाले साढे पाँच महीनासम्म एम्बुलेन्स चालू गर्न नमानेको हो।
एम्बुलेन्स काङ्ग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टको पहलमा आमा फाउण्डेशनले सहयोग जुटाएर खरीद गरिएको बताइएको थियो। नेता विष्टको नाम उल्लेख गरिएको भन्दै गाउँपालिकाले साढे पाँच महीनादेखि नै प्राथामिक स्वास्थ्य केन्द्र जोरायलमा एम्बुलेन्स थन्काएर राखेको स्थानीयवासी प्रकाश मल्लले बताए।
उनले भने, 'काङ्ग्रेसको नाम लेखियो भनेर एम्बुलेन्स थन्काइएको छ, जनतालाई दिएको सुविधामा राजनीति किन?' उक्त गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले नेता विष्टले विना कारण आफ्नो नाम उल्लेख गरेकोले एम्बुलेन्स चलाउन नदिएको बताए।
उनले भने, 'गाउँपालिका कै पहलमा आमा फाउण्डेशनले एम्बुलेन्स खरीद गरे पनि काङ्ग्रेस नेताको नाम उल्लेख गरिएकाले एम्बुलेन्स नचलाउन भनेका हौँ, नाम हटाए चलाउछौँ, सबै ठाउँमा राजनिति त गर्नु भएन नी।' आगामी आर्थिक वर्षमा गाउँपालिकाले नै बजेट विनियोजन गरेर नयाँ एम्बुलेन्स खरीद गर्ने उनको भनाई छ।
नेता विष्टले आफ्नो पहलमा एम्बुलेन्स ल्याइएको भन्दै पुसको दोस्रो साता बडिकेदार गाउँपालिका र जोरायल गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेका थिए। बडिकेदार गाउँपालिकामा भने एम्बुलेन्स सञ्चालन गरिएको छ। रासस