प्रिय समायोजन
मीठो सम्झना। पहिलो पत्रको जवाफ नआएपछि दोस्रो पत्र लेख्न बाध्य भएँ। हरेक क्षण तिम्रो पत्र आउँछ। हुलाकी दाइको बाटो हेर्दाहेर्दै आँखा लोलाउन थालिसके।
कहिले सामान्य मन्त्रालयले स्वास्थ्यमा तिमिलाई पठाएको त कहिले अझै महिनौं लाग्नेजस्ता खबर सुन्दासुन्दा आफ्नो भनेर सोचिएका महाशयले नै तिम्रो र मेरो भेट हुन नदिएको आभाश हुन थालिसकेको छ।
महाशयहरुले त सोच्नुभयो होला। आदेश जारी भएपछि साना मान्छे जसरी पनि कामकाजमा खटिनु पर्छ। तर हामी साना मान्छेहरुको पनि आत्मा छ। त्यो आत्माभित्र माया, ममता, संवेदना अनि खुशी भएर कार्यक्षेत्रमा काम गर्ने चाहना छ भनेर उहाँहरुले कहिले बुझ्नु हुन्छ?
तपाईंहरुले सँधै दिइरहने आदेशले अब चाँहि काम गर्ने आशा छ। रोगको किटाणुलाई एन्टिबायोटिक रेसिस्टेन्ट भएजस्तै नहुन् भन्ने शुभकामना पनि छ। किनभने धैर्यताको पनि सीमा हुन्छ भन्ने कुरा बुझ्नुभएकै होला।
बेलाबेलामा हामी पेशागत हक र अधिकारका लागि वकालत गर्छौ भनेर नथाक्ने संगठनका चालक कता हराउनुभयो होला? त्यो कुरामा झनै चित्त दुखेको छ। कि उहाँहरुले परिभाषित गरेको अधिकारमा समायोजन छिटोभन्दा सकियोस् र आफू परेको कार्यक्षेत्रमा छिटो गएर खटिन पाऊँ भन्ने हामीहरुको चाहना पर्दैन र?
यदि यो नेपाल भन्ने मुलुकमा साना भनिएका मान्छेले पनि सूचना पाउने हक छ भने, कसको स्वार्थ पूरा गर्न अनि कसकसका मान्छेहरुको चित्त बुझाउन हामीलाई अनिर्णयको बन्दी बनाइएको हो? सूचना पाउनुपर्यो भन्ने हाम्रो चाहना गलत हो र?
अन्त्यमा हामी साना मान्छेलाई अनिर्णयको बन्दी बनाई हाम्रो मन-मस्तिष्कलाई आधुनिक यातना दिनु भएकोमा दु:ख व्यक्त गर्दै प्रिय समायोजन तिमीसँग छिट्टै भेट्ने अभिलाषासहित बिदा हुन चाहन्छु।
उही तिम्रो
अशोक भुजेल
अहेब
भीरकोट स्वास्थ्य चौकी
बिरुवा-८, स्याङ्जा
यो पनि :