विराटनगर- एक महिलाको उपचारका क्रममा मृत्यु भएपछि तनावग्रस्त विराट नर्सिङ होम सामान्य बनेको छ। पाठेघरमा समस्या देखिएकी मोरङ जिल्ला सुन्दरहरैचा नगरपालिका-१ ती महिलाको मृत्यु भएपछि आफन्तहरु आक्रोशित बनेका थिए। चिकित्सककै सल्लाहअनुसार अस्पताल भर्ना भएकी उनको शनिबार बिहान मृत्यु भएको थियो।
अस्पतालका चिकित्सकले पाठेघर सफा गर्दा बच्चा बस्न सक्छ भन्ने सल्लाह दिएपछि सोही अस्पतालमा उपचार गराउँदा ३८ वर्षीय चेलीमाया प्रसाईको मृत्यु भएको हो। चेलीमायाको अस्पतालमा शल्यक्रिया गरिएको थियो। शल्यक्रियापछि सामान्य वार्डमा उपचार हुने क्रममा उनको मृत्यु भएको हो।
शनिबार बिहान उनको मृत्यु भएपछि आफन्तले अस्पतालमा तोडफोड गरेका थिए। विराटनगरको मुनालपथस्थित अस्पताल क्षेत्र केही बेरअघि तनावग्रस्त बनेको थियो भने केही समय तालाबन्दीसमेत भएको थियो। ताला खुलेपनि आक्रोशित आफन्तजनहरुले सडकमा अवरोधसमेत गरेका थिए।
झापाको गौरदह माइतीघरबाट उनी सल्लाह लिनकै लागि अस्पताल पुगेकी थिइन्। उनलाई पाठेघर सफा गर्न चिकित्सकले सल्लाह दिएका थिए। पाठेघर सफा गर्न मञ्जुर भएपछि उनको अप्रेशन (पाठेघर सफा) गरिएको थियो। शल्यक्रियाको करिब २८ घण्टापछि उनको मृत्यु भएको हो।
सामान्य अवस्थाको मानिसको मृत्यु के कारणले भयो भनेर अस्पतालले आफन्तलाई जवाफ नै दिन नसकेको पीडित पक्षको आरोप छ। ‘इन्फेक्सन भयो भन्नुभयो। राम्रो जवाफ नै दिनुभएन। जे गर्न सक्नुहुन्छ, गर्नुस् भन्नुभयो,’ पीडितले भने।
जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले महिलाको मृत्यु भएको घटनामा आफन्त आक्रोशित भएर अस्पतालमा सामान्य तोडफोड भएको बताए। के भएको हो भनेर डाक्टरसँगै बुझ्नुपर्ने तर महिलाको मृत्यु भएपछि सामान्य तोडफोड भएको उनको भनाइ छ।
चिकित्सकको लापरबाहीले प्रसाईको मृत्यु भएको भन्दै प्रर्दशनमा उत्रिएका पीडित पक्षका ५ जनालाई प्रहरीले पक्राउ गरेको थियो। तर आइतबार बिहान अस्पताल प्रशासन र पीडित पक्षबीच सहमति भएपछी उनीहरु छुटेका छन्।
अस्पतालका प्रशासन प्रमुख पदम बिनाडीका अनुसार अहिले शव बुझ्ने र पछि बाँकी छलफल गरेर कुरा मिलाउने सहमति भएको छ। उपचारका क्रममा अस्पतालले कुनै कमजोरी नगरेको उनको दाबी छ।