काठमाडौं– लामो समयको तयारीपछि सरकारले रोटा भाइरस खोप सुरु गर्ने भएको छ।
आर्थिक वर्ष २०७५/७६ बाटै सुरु गर्ने भनिए पनि खोप अभावका कारण ढिलाइ भएको थियो। यो खोप आउँदो माघ-फागुनदेखि नियमित सञ्चालन हुनेछ।
परिवार कल्याण महाशाखा, बाल स्वास्थ्य तथा खोप शाखाका अनुसार ग्लोबल एलाइन्स फर भ्याक्सिन एन्ड एमिनाइजेसन (गाभी) र खोप उत्पादक कम्पनी जिएसके भारतले खोप उपलब्ध गराउने सुनिश्चित गरेको हो। राष्ट्रिय खोप सल्लाहकार समितिले समेत पहिले स्वीकृत भएको रोटा खोप सुरुवात गर्न सिफारिस गरिसकेको खोप शाखाको भनाइ छ।
एक वर्षमुनिका ६ लाख ५० हजार बालबालिकालाई रोटा खोप दिइनेछ। ६ हप्ता र १० हप्तामा गरी दुई मात्रामा यो खोप दिइनेछ।
नेपालमा बच्चामा देखिने पखालाको मुख्य कारण रोटा भाइरस मानिएको छ। यो खोपले बच्चामा हु्ने ३० प्रतिशत पखाला कम गर्न सकिने विश्वास सरकारको छ।
गाभीको सहयोगमा सरकारले ३ करोड रुपैयाँ बराबरको १२ लाख भाइरस खरिद गर्न लागेको थियो। तर, खोपका लागि सम्झौता गरेको जिएसके कम्पनीले एक वर्षसम्म खोप पठाउन नसक्ने सन्देश पठायो। जसका कारण खोप प्रयोगमा ल्याउने सरकारी योजना अन्तिम समयमा रोकिएको थियो।
झाडापखालाले कैयौं बालबालिका कुपोषणको सिकार हुने गरेका छन्। केहीको मृत्युको कारण पनि झाडापखाला नै बन्ने गरेको छ।