काठमाडौं- नेपालीका लागि रोजगारीका दृष्टिकोणले आकर्षक गन्तव्य मुलुक बन्न सक्ने जापानले नेपालबाट पहिलो चरणमा नेपाली नर्स लैजाने प्रस्ताव अघि सारेको छ।
जापान र नेपालका प्रतिनिधिहरुबीच भएको भिडियो बैठकमा जापानी पक्षले पहिलो चरणमा नेपालबाट नर्सिङ केयरका लागि नर्स लैजाने प्रस्ताव अघि सारेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव उमेश ढुंगानाले जानकारी दिए।
‘जापानका प्रतिनिधिले नर्सलाई पहिलो प्राथमिकतामा लैजाने धारणा अगाडि सार्नुभएको छ,' सहसचिव ढुंगानाले स्वास्थ्य खबरसँग भने।
जापान र नेपालबीच २०७५ चैत्र ११ गते श्रमिक आपूर्ति बारे सहकार्यको समझदारी पत्र (एमओयु) मा हस्ताक्षर भइसकेको छ।
एमओयुको कार्यान्वयनका लागि दुई देशबीच संयुक्त कार्यदल बनाइएको थियो। सो कार्यदलबाट नै नेपाल र जापानबीचको श्रम समझदारीलाई कार्यान्वयनको टुंगोमा पुर्याइने जनाइएको छ।
समझदारी भएको ३ महिना बित्नै लाग्दा संयुक्त कार्यदलको प्रत्यक्ष बैठक बस्न नसकेकाले भिडियो बैठक बसेर छलफल गरिएको सहसचिव ढुंगानाले बताए।
कामदार छनौटमा सिप र भाषा परीक्षणलाई प्राथमिकता
दक्ष कामदारहरुलाई जापानले प्राथमिकता दिने समझदारीमा नै उल्लेख गरिएको छ।
पहिलो चरणमा लैजान लागिएका नर्सलाई पनि सिप परीक्षण (स्किल टेस्ट)पछि मात्रै लैजाने भएको छ।
जापानले भाषासँगसँगै सिप परीक्षणलाई विशेष प्राथमिकतामा राखेको श्रम मन्त्रालयका उपसचिव दिपक ढकाल बताउँछन्।
‘जापानले नेपालबाट दक्ष कामदारहरुको अपेक्षा गरेकाले कामदार छनौट प्रकृयालाई पनि सोही अनुरुप अघि बढाइने छ,’उपसचिव ढकालले भने।
भाषा परीक्षाको मोडालिटी टुंगो लगाउन बाँकी
जापानी भाषा परीक्षाको मोडालिटी र सिप परीक्षणबारे संयुक्त कमिटीको बैठकबाट नै टुंगो लगाइने मन्त्रालयले जानकारी दिएको छ।
विभिन्न सञ्चार माध्यमहरुमा ६० मिनेटको सिप परीक्षण (स्किल टेस्ट) र २० मिनेटको भाषा परीक्षा हुने भनिएपनि यस विषयमा टुंगो लाग्न बाँकी रहेको उपसचिव ढकाल बताउँछन्।
उनले भने, ‘भाषा परीक्षा, स्किल टेस्टका बारेमा आधाकारिक धारणा आउन बाँकी नै छ, यति समयको भाषा परीक्षा हुने, यति समयको सिप परीक्षण हुने भनेर तोक्न अहिले तोक्न सकिँदैन।’
प्राथमिकतामा नर्स
जापानले अबका ५ वर्षमा ३ लाख ५४ हजार आप्रवासी कामदार भित्र्याउने नीति अघि सारेको छ।
जसमा पनि नेपालबाट ठूलो संख्यामा नेपाली कामदार लिन जापानसमक्ष पहल गरिने मन्त्रालयले बताएको छ।
जापानले निमार्ण, उद्योग, नर्सिङ, कृषि, होटल लगायत १४ क्षेत्रमा आप्रवासी कामदारहरुलाई प्राथमिकताका साथ लैजाने जानकारी दिएको छ।
जापान र नेपालका प्रतिनिधिबीच भएको भिडियो छलफलमा नेपालबाट पहिलो चरणमा नर्सहरु लैजाने विषयलाई प्राथमिकतामा राखिएको श्रम मन्त्रालयले जानकारी दिएको छ।
‘प्रत्यक्ष छलफल हुन बाँकी छ, भिडियो छलफलमा नर्सहरुलाई प्राथमिकतामा राखेर रोजगारीका लागि जापान पठाउने विषय उठान भएको छ,’उपसचिव ढकाल भन्छन्।
जापानमा नर्सिङ केयरका क्षेत्रमा धेरै संख्यामा कामदारको माग रहेकाले जापानले नेपालबाट नर्सिङ क्षेत्रका कामदार लैजान प्रस्ताव गरेको मन्त्रालयले जानकारी दिएको छ।
नर्सिङसँगै जापान सरकारको मागका आधारमा नेपाली कामदार आपूर्ति गरिने उल्लेख गरिएको छ।
कहिले खुल्छ जापान?
सुरक्षा र कमाईका हिसाबले आकर्षक जापानसँग श्रम समझदारी भएपछि हरेक युवाहरुको मुखमा एउटै प्रश्न झुण्डिएको छ, ‘जापान रोजगारी कहिले खुल्छ?’
धेरैलाई लागेको थियो समझदारी लगत्तै जापान जान पाइन्छ। तर जापानसँग समझदारी भएको ३ महिना बित्नै लागिसक्दा समेत समझदारी अनुरुप नेपाली कामदार जापान जान पाएका छैनन्।
जापान रोजगारी ठ्याक्कै यही महिना वा दिनदेखि खुल्छ भनेर यकिन गर्न नसकिने मन्त्रालयको भनाई छ।
सोमबार प्रतिनिधिसभामा सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नेपाल र जापानबीच संयुक्त कार्यदलको बैठक बस्ने तयारी भइरहेको र बैठक पछि जापान रोजगारीको टुंगो लाग्ने बताएका छन्।
गत अप्रिलको पहिलो हप्तादेखि नै रोजगारीका लागि युवाहरु जापान पठाउने बताइएपनि हालसम्म नेपाली कामदार जापान जान पाउने मितिको टुंगो भने लाग्न सकेको छैन।