काठमाडौं — सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ। उपाध्यक्ष नियुक्ति गर्न सरकारले गठन गरेको सिफारिस समितिले उपाध्यक्षका लागि दरखास्त हाल्न सार्वजनिक सूचना जारी गरेको हो।
चिकित्सा शिक्षा ऐन कार्यान्वयनमा आएको चार महिनापछि समितिले सोमबार उपाध्यक्ष सिफारिस गर्न सार्वजनिक सूचना प्रकाशित गरी दरखास्त आहवान गरेको हो।
गत चैत ४ गते बसेको आयोगको पहिलो बैठकले लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीको संयोजकत्वमा आयोगको कार्यकारी अधिकार रहने उपाध्यक्ष नियुक्तीका लागि सिफारिस समिति गठन गर्ने निर्णय गरेको थियो।
राष्ट्रिय चिकित्सा शिक्षा ऐन अनुसार सिफारिस समितिमा लोक सेवा आयोगको अध्यक्ष संयोजक रहने व्यवस्था छ। उक्त समितिमा मुख्यसचिव वा निजले तोकेको प्रधानमन्त्री कार्यालयका सचिव र चिकित्सा क्षेत्रका प्राध्यापकमध्ये सरकारले तोकेको महिला एक जना सदस्य हुने व्यवस्था छ।
समितिले दरखास्त दिएका उम्मेदवारमध्ये व्यावसायिक कार्ययोजनाको प्रस्तुति तथा लिखित र मौखिक परीक्षा लिई योग्यता पुगेका आवेदकमध्येबाट उपाध्यक्ष नियुक्तिका लागि सम्भावित तीन जनाको नाम सरकारसमक्ष सिफारिस गर्नेछ। सो मध्ये सरकारले एक जनालाई उपाध्यक्ष नियुक्ति गर्ने छ।
उपाध्यक्ष हुन मान्यता प्राप्त विश्वविद्यालयबाट चिकित्साशास्त्रको कुनै पनि विधामा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरी कम्तीमा बीस वर्षको अनुभव भएको व्यक्ति हुनुपर्ने व्यवस्था छ।
समितिले १५ दिनको समय दिएर दरखास्त माग गरेको छ। दरखास्त दिने उम्मेदवारले उपाध्यक्ष भएपछि आयोगको नेतृत्व गर्ने र नेतृत्वदायी भूमिका बहन गर्ने समबन्धमा बढीमा ३ हजार शब्दको सोचपत्र र बढीमा ३ हजार शब्दमै ४ वर्षे व्यवसायीक कार्ययोजना पेश गर्नुपर्ने हुन्छ।
आयोगको अध्यक्ष प्रधानमन्त्री र सहअध्यक्ष स्वास्थ्य मन्त्री र शिक्षामन्त्री रहने व्यवस्था छ।
चिकित्सा शिक्षामा भएको विकृती रोक्न डा गोविन्द केसीको पटक पटकको अनसनपछि यो ऐन ल्याइएको हो। ऐनका केही बिषयमा अझै पनि डा केसीको विमती रहेको छ।
