पोखरा–गण्डकी प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुनले कर्मचारी समायोजनको असर खोपमा पर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेकी छन्।
बुधबारदेखि गण्डकी प्रदेशमा सुरु भएको ‘राष्ट्रिय खोप कार्यक्रम संचालनका लागि प्रशिक्षिक प्रशिक्षण एवमे निर्देशिका र प्रस्तुतीकरण सामग्रीको समिक्षा तथा तयारी गोष्ठी’ उद्घाटन गर्दै मन्त्री पुनले समायोजनले कर्मचारीलाई परेको असरले खोपको पहुँच दर खस्कने हो कि भन्ने आंशका व्यक्त गरेकी हुन्।
‘गण्डकी प्रदेश पूर्ण खोप सुनिश्चित प्रदेश भइसकेको छ, कर्मचारी समयोजनले अन्योलता ल्याएको छ, त्यसको असर खोप कार्यक्रममा पर्न नदिन सजग हुनुपर्छ,‘ उनले भनिन्।
गण्डकी प्रदेशलाई गत वर्ष भदौ १३ गते पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरिएको छ।
कार्यक्रममा गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख खेमबहादुर खड्का, सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख रमेशप्रसाद अधिकारीलगायतले खोपको पहुँच कायम राख्दै खोप राख्न आफूहरु प्रतिबद्ध रहेको बताएका थिए।
उक्त तालिममा गण्डकी प्रदेशका ११ जिल्लाका जिल्ला स्वास्थ्य कार्यालय, खोप अधिकृत,कोल्ड चेन अधिकृत तथा प्रदेश स्वास्थ्य निर्देशनालय, सामाजिक विकास मन्त्रालयका गरी ३० जना स्वास्थ्यकर्मी सहभागी रहेको परिवार कल्याण महाशाखा बाल स्वास्थ्य तथा खोप शाखाका जनस्वास्थ्य अधिकृत बसन्त श्रेष्ठले जानकारी दिए। तालिम पाँच दिनसम्म संचालन हुनेछ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले सातै प्रदेशमा राष्ट्रिय खोप कार्यक्रम सुढृढीकरण एवम् पूर्णखोप सुनिश्चिता र दीगोपनाका लागि प्रदेश, जिल्ला र स्थानीयतहमा कार्यक्रम संचालनका लागि कार्यक्रम निर्देशिकाको सन्देश र प्रस्तुतीकरण सामग्रीको पुनरवलोकन एवम् अद्यावधिक तथा प्रशिक्षक प्रशिक्षण तालिम संचालन गर्दै आएको छ।
हालसम्म सुदुरपश्चिम प्रदेश,कर्णाली प्रदेश, प्रदेश नम्बर ५ मा यो तालिम सम्पन्न भइसकेको अधिकृत श्रेष्ठले बताए।
प्रदेश १ मा पनि बुधबारबाटै यो तालिम सुरु भएको छ।