काठमाडौं- सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका ११ औं तहका कर्मचारीको समायोजन सूची पारित गरेको छ। मन्त्रिपरिषद्बाट पास भएको सूची स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज बिहीबार पुगेको छ।
मन्त्रिपरिषद्ले सहसचिवस्तरका १ सय ५६ कर्मचारीको समायोजन सूची पारित गरी कार्यान्वयनको आदेशसहित मन्त्रालयमा सूची पठाएको हो। उक्त सूचीमा ४ जना कर्मचारी फाजिलमा छन्। अवकाश पाउने क्रममा रहेका कर्मचारीलाई फाजिलमा राखिएको हो।
मन्त्रालयलको प्रशासन महाशाखा प्रमुख जनार्दन गुरागाईंले सूची आइसकेको जानकारी दिँदै भने, ‘सूची आइसकेको छ, अब हामी पत्र दिन सुरु गर्नेछौं।’
यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजनको काम सकिएको बताए पनि विभिन्न समस्या आउँदा समायोजनको सूचीमा अन्योल भएको थियो।
तर, अहिलेको सूची समस्या समाधान हुने गरी आएको बताइएको छ।
मन्त्रालयले उक्त सूची छिट्टै प्रकाशित गर्ने पनि जनाएको छ।