काठमाडौं- डा राजेन्द्र प्रसाद पन्तले सरकारी सेवाबाट उमेरका आधारमा अनिवार्य अवकाश पाएका छन्। डा पन्त हाल सार्क क्षयरोग तथा एचआइभी केन्द्रको निर्देशकका रुपमा कार्यरत थिए।
स्वास्थ्य मन्त्रालय अन्तर्गतको तल्लो तहदेखि महानिर्देशकसम्मको जिम्मेवारी सम्हालेका डा पन्तले आज शुक्रबारदेखि अवकाश पाएका हुन्।
डा पन्तले डेढ वर्षअघि तत्कालिन स्वास्थ्य मन्त्री दीपक बोहराले बिना कारण विभागको महानिर्देशकबाट सरुवा गरेपछि रुष्ट हुँदै सरकारी सेवाबाट राजिनामा दिएका थिए। तर, तत्कालिन समयमा स्वास्थ्य सचिव नहुँदा उनको राजिनामा पत्र मन्त्रालयले बुझेको थिएन।
सोही समयमा डा पन्तलाई सहकर्मीले सरुवाको निर्णय विरुद्ध अदालतमा जान सल्लाह दिएका थिए। सहकर्मीको सल्लाहअनुसार डा पन्तले अदालतमा मुद्धा हालेका थिए। अदालतले डा पन्तको पक्षमा आदेश दिएपछि उनी नियमित काममा फर्किएका थिए।
त्यसपछि सरकार परिवर्तनसँगै उनलाई सार्क क्षयरोग तथा एचआइभी केन्द्रमा सरुवा गरिएको थियो। केन्द्रमा उनले झन्डै डेढ वर्ष काम गरे।
अवकाशका विषयमा छोटो प्रतिक्रिया दिँदै डा पन्तले भने, ‘अब म आम नागरिक भएको छु।’
उनले स्वास्थ्य सेवामा तीन दशकभन्दा बढी समय काम गरे। मेडिकल अफिसरका रुपमा स्वास्थ्य सेवामा प्रवेश गरेका डा पन्तले जिल्लादेखि क्षेत्र हुँदै स्वास्थ्यको नीतिगत तहसम्म काम गर्ने अवसर पाए।