काठमाडौं– काठमाडौं उपत्यकामा युवतीमाथि श्रङ्खलाबद्ध रुपमा सिरिञ्ज आक्रमण गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंबाट परिचालन भएको विशेष टोलीले ती युवालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा ३० वर्षीय सन्तोष कार्की रहेको प्रहरीले जनाएको छ।
उनलाई महाराजगञ्जको भाटभटेनी नजिकबाट गएराति साढे १२ बजे पक्राउ गरिएको स्रोतले जानकारी दियो। पछिल्लो समय उपत्यकामा सिरिञ्ज जस्तो वस्तुबाट युवतमाथि आक्रमण हुँदै आएको छ। अहिलेसम्म ५ जना युवतीहरुले आफूमाथि आक्रमण भएको भन्दै उजुरी दिएको प्रहरीले जनाएको छ।
यद्यपी पीडितहरुको संख्या भने बढ्न सक्ने प्रहरीले अनुमान गरेको छ। पक्राउ परेका युवाले हानेको वस्तु सिरिञ्ज नै हो वा अन्य केही हो भन्नेबारे प्रष्ट हुन बाँकी रहेको अनुसन्धानमा खटिएको प्रहरी टोलीले जनाएको छ। ती युवाले किन आक्रमण गरे भन्नेबारे पनि केही खुल्न सकेको छैन।