काठमाडौं- धरानस्थित बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानको उपकुलपति र रजिष्ट्रारको कार्यालयमा तालाबन्दी गरिएको छ। प्रतिष्ठानले स्नातकोत्तर तहका लागि प्रकाशित गरेको प्रवेश परीक्षाको सूचनामा नेपालीभन्दा विदेशी विद्यार्थीलाई बढी सिट दिएको भन्दै जुनिएर रेजिडेन्ट वेलफेयर सोसाइटीले बिहीबार तालाबन्दी गरेको हुन्।
सोसाइटीले प्रतिष्ठानले सार्वजनिक गरेको सिटको निर्णय सच्याउन ७२ घण्टे अल्टिमेटम दिएको थियो। उक्त अवधिमा प्रतिष्ठानले निर्णय नसच्याएपछि सोसाइटीले तालाबन्दी गरेको हो।
तालाबन्दी सहति प्रतिष्ठानका रेजिडेन्ट चिकित्सकले उपकुलपति कार्यालय अघि धर्ना समेत दिएका छन्।
प्रतिष्ठानले असार ७ गते भर्नाका लागि सूचना निकालेको थियो । उक्त सूचनामा केही विषयमा नेपालीलाई भन्दा विदेशी विद्यार्थीलाई बढी सिट दिइएको छ।
विद्यार्थीहरुले राष्ट्रिय चिकित्सा शिक्षा ऐन विपरित प्रतिष्ठानले विदेशीलाई बढी सिट दिएको भन्दै विरोध गरेका हुन्। राष्ट्रिय चिकित्सा शिक्षा ऐन अनुसार कुल सिटमध्ये ३३ प्रतिशतभन्दा बढी विदेशी विद्यार्थी भर्ना गर्न पाइँदैन।
प्रतिष्ठानले राष्ट्रिय चिकित्सा शिक्षा ऐन विपरित काम नगरेको बताएको छ। प्रतिष्ठानका उपकुलपति डा राजकुमार रौनियारले राष्ट्रिय चिकित्सा शिक्षा ऐनमा कुल सिटको एक तिहाइ सिट विदेशीलाई दिन मिल्ने भए पनि प्रतिष्ठानले कुल सिटमा उक्त व्यवस्था भन्दा पनि निकै कम सिट विदेशीलाई दिन लागिएको बताए।