घटनामा संलग्न आरोपी सन्तोष कार्की
काठमाडौं- केही सातायता उपत्यकामा 'सिरिन्ज' आतंक मच्चाउने कार्यमा संलग्न एक जना पक्राउ परेपछि पीडितहरुले केही राहतको महसुस गरेका छन्।
महाराजगन्जको भाटभटेनी नजिकबाट गएराति साढे १२ बजे सन्तोष कार्की पक्राउ परेका हुन्। महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखाबाट परिचालन भएको विशेष टोलीले ३० वर्षीय कार्कीलाई पक्राउ गरी आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिसकेको छ।
कार्कीलाई पक्राउपछि प्रतिक्रिया दिँदै ढल्कुकी २३ वर्षीया पीडित युवतीका श्रीमान्ले उनलाई कडा कारबाही गर्नुपर्ने बताए। 'अपराधी समातिएको छ। खुसी त लागेको छ,' उनले भने, 'हामीले यत्तिका दिन पाएको शारीरिक तथा मानसिक यातना केही भए पनि कम भएको छ।'
पीडित युवतीले भने कार्कीलाई ज्यानमुद्दा लगाउनुपर्ने बताइन्। 'क्षतिपूर्तिबारे बारे पनि सोचिरहेका छौं,' उनले भनिन्।
सिरिन्ज जस्तो तिखो वस्तुले आक्रमण भएको एक हप्तापछि आफूले पनि खोजीमा प्रहरीलाई सहयोग गरिरहेको श्रीमान् बताउँछन्।
महाराजगन्जको भाटभटेनी क्षेत्रको सिसिटिभीमा देखिएको शंकास्पद मोटरसाइकलका आधारमा कार्की पक्राउ परेका हुन्। मोटरसाइकल भाटभटेनीअगाडि फेला परेपछि प्रहरीले मोटरसाइकल कुरेर बसेको थियो। सोही बेला मोटरसाइकल लिन आउँदा उनलाई पक्राउ गरिएको हो।
'बाइकको पछाडिको स्टिकर उक्किएको थियो। यदि त्यो मेटिएको भए पत्ता लाग्ने थिएन,' पीडितका श्रीमान् भन्छन्।
महाराजगन्जमा रहेको आफ्नो रेस्टुरेन्ट बन्द गरेर घर जाने बेलामा बाटोमा भेटिएका युवतीलाई कार्कीले तिखो वस्तु प्रहार गर्ने गरेको प्रहरीको भनाइ छ।
कार्कीका पत्नीसहित १० वर्षका र १७ महिनाका २ छोरा छन्।
एसएसपी उत्तमराज सुवेदीले सर्वसाधारणको जनस्वास्थ्यमा आतंकित गर्ने काम गरेकाले सोही अनुसार मुद्दा चलाएर अनुसन्धान गर्ने बताए।
पीडितहरुले सिरिन्ज जस्तो वस्तु घोपिएको बताए पनि उनले सिरिन्ज नभएर ढलानको किला रोपेको बयान दिएका छन्।